अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् – प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:२३ मा प्रकाशित

प्रेस विज्ञप्ति

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरूलाई देशको सामाजिक सुरक्षा र संचयकोषको सेवा उपलब्ध गराउने गरी व्यवस्था गर्न आवश्यक प्रक्रिया अगाडि बढाएकोमा गैरआवासीय नेपाली सङ्घ नेपाल सरकार, विभागीय मन्त्री माननीय गोकर्ण विष्ट, कर्मचारी संचयकोष तगायत सबै सम्बन्धित निकायहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछ । यो विषयलाई निर्णायक तहमा पुर्‍याउन मन्त्रालयका तर्फबाट पछिल्लो समयमा भएको अध्ययनमा सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका हजारे अभियान लगायतका यससँग सम्बन्धित विषय, संचयकोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयहरूलाई समेत गम्भीरतापूर्वक लिइएको हामीले महसुस गरेका छौँ । नेपाल सरकारको यो निर्णयको सङ्घ सहर्ष स्वागत गर्दछ ।

गैरआवासीय नेपाली सङ्घले यस अभियानलाई केवल वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा र भविष्यका लागि बचत हुने विषयका रूपमा मात्रै हेरेको छैन । यो अभियानले सानो सानो पुँजीलाई एकीकृत गरेर राष्ट्र निर्माणका ठूलठूला कार्यहरू गर्नसमेत योगदान पुग्ने विश्वास सङ्घले लिएको छ । यही विश्वासका साथ सङ्घले सन् २०१३ देखि नै यो विषयलाई हजारे अभियान (सामाजिक सुरक्षा कोष) का रूपमा अघि बढाउँदै आएको थियो । अव यो कार्यान्वयनको तहमा पुगेको सन्दर्भमा सङ्घ र यसका अभियन्ताहरू खुसी भएर मात्र पुग्ने अवस्था छैन । यस अभियानमा वैदेशिक रोजगारीमा रहेका बढी भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरूलाई सहभागी गराएर सफल बनाउनु पनि हाम्रो दायित्व हो भन्ने हाम्रो बुझाइ छ र यस निम्ति नेपाल सरकार र सम्बन्धित निकायहरूसँग आवश्यक सहकार्य गर्न सङ्घ आतुर रहेको समेत यसै अवसरमा जानकारी गराउन चाहन्छौँ ।

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली सङ्घ
अन्तर्राष्ट्रिय समन्वय परिषद्

प्रतिक्रिया