अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

हृदयाघात पछि पुर्व युवराज पारस शाह अस्पताल भर्ना, मुटुको ब्लकेज खोलियो, स्वास्थ्य स्थिति स्थिर तर गम्भीर

बिआरटीनेपाल २०७५ माघ १४ गते ८:३७ मा प्रकाशित

पुर्व युवराज पारस शाह हृदयाघात भएपछि अस्पताल भर्ना हुनुभएको छ । नर्भिक अस्पतालमा भर्ना हुनुभएका शाहको मुटुको दुवै ब्लकेज खोलिएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर तर अझै पनि गम्भीर रहेको छ । ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा अप्ठ्यारो भएपछि उहाँलाई सोमबार अपराह्न सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका मुटु रोग विभाग प्रमुख डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उहाँको मुटुको ब्लक खुलाएर स्टेन्ट हालेको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार एन्जियोप्लाष्टी गरी मुटुको धमनी खोजेपछि शाहलाई क्याथल्याबबाट सिसियु कक्षमा सारिएको छ ।

एन्जियोप्लाष्टी सम्पन्न भएपछि शाहलाई सिसियुको ‘क्रिटिकल केयरिङ’मा राखिएको छ । शाहको उपचारमा डा. यादव भट्टसहितको चिकित्सक टोली खटिइरहेको सिंहले अस्पतलले जनाएको छ । यसअघि दुई पटक हृदयघातबाट गुज्रिएका पारस तेस्रो पटक हृदयघातपछि अस्पताल जानुभएको हो ।

यसअघि मन्दिरमा डेढ घण्टा बिताएका पारसलाई पञ्चकन्याले फूलमालाका स्वागत गरेका थिए । शाह मन्दिर पुग्दा स्वागत गर्न ललितपुरका मेयर चिरिबाबु मर्हजन समेत पुग्नुभएको थियो । श्रीमतीसँग लामो समय छुट्टिएर बसेका पारस केही समययता भने परिवारसँग घुलमिल हुनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा हुनुहुन्छ ।

छोरा पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहनुभएका पारसका आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं हिंड्नुभएको छ । बुबा ज्ञानेन्द्र भने मंगलबार बिहान हवाइ जहाजबाटै काठमाण्डौं जाने तयारीमा रहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू