अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने नेपाली कांग्रेसको निर्णय

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसँग भएको सम्झौता विपरित बलजफ््ती राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको र आफ्ना नेताको नाममा रहेको अस्पताललाई खारेज गर्न खोजेको भन्दै माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रदर्शनमा सहभागिताका लागि बैठकले अपील समेत गरेको छ ।

बैठकले संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिँदै भत्र्सना समेत गरेको छ । डा. गोविन्द केसीको अनसनप्रति सरकारले सम्वेदनहिन व्यवहार गरेको कांग्रेसको ठहर छ ।

सरकारले स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न दुष्प्रयास गरेको आरोप लगाउँदै कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरित भएको बताएको छ ।

देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको भन्दै बैठकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र भएको ठहर पनि गरेको छ ।

महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णय र जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरूका लागि पनि देशव्यापी प्रदर्शन गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
आजको बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईले आ आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू