अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

युएईविरुद्ध नेपाल १ सय ४५ रनले बिजयी, सोमपाल, रोहित र सन्दीप चम्किए

बिआरटीनेपाल २०७५ माघ १२ गते ८:१४ मा प्रकाशित

युएई विरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा नेपाल १ सय ४५ रनले बिजयी भएको छ । २ सय ४३ रनको लक्ष्य पछ्याएको युएई १९ ओभर ३ बलमा ९७ रन बनाएर अल आउट भयो । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिनुभयो ।

सोमपाल म्यान अफ द म्याच सँगै एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बन्नुभयो । जितसँगै नेपालले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो शुरुवात गरेको थियो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि १५ ओभर ३ बलमा ६१ रनको साझेदारी गरेका थिए । विनोदले २१ रन बनाउँदा ज्ञानेन्द्रले ४४ रन बनाउनुभयो ।

कप्तान पारस खड्काको ब्याटबाट २१ रन निस्कँदा, आरिफ शेखले २९ रन बनाउनुभयो । तर नेपालका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले उत्कृष्ठ ब्याटिङ गर्दै ५५ रन बनाउनुभयो । पौडेल एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी पनि बन्नुभएको छ । आठौं नम्बरमा ब्याटिङ गर्दै करन केसीले ११ बलमा १८ रन बनाउनुभयो । त्यस्तै सन्दीप लामिछानेले अविजित रहँदै, १० बलमा १४ रन बनाउनुभयो ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४२ रनको मध्यम योगफल बनाएको थियो । तर नेपाली बलरले उत्कृष्ठ प्रदर्शन गरेपछि युएईका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । युएईविरुद्धको आजको जित, नेपालको एकदिवसिय इतिहासमा फराकिलो रन अन्तरको जित समेत बनेको छ । नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम एकदिवसिय खेल पर्सी सोमवार हुनेछ ।

प्रतिक्रिया