अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

डा. गोविन्द केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

बिआरटीनेपाल २०७५ माघ ११ गते ८:५० मा प्रकाशित

चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीले प्रधामन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा डा. केसीले राजीनामा माग गर्नुभएको हो ।

डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीले ज्ञापनपत्र वाचन गरेका थिए। “आफैँले गराएका सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्यूत तथा आफ्नै विगतका कुराबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ”, केसीको तर्फबाट वाचन गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ , “प्रधानमन्त्रीको निर्णय क्षमता र उहाँको स्वास्थ्य क्षमता तथा उहाँले लिइरहेको औषधीका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनुपर्ने दुर्भाग्यपूर्ण कुरा हो ।” डा. केसीले अनशन जारी रहने पनि बताउनुभएको छ । उहाँ चिकित्सा शिक्षा लगायतका १६ औँ अनशनका माग पूरा गराउन सरकारसंग आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले गरेको सम्झौता विपरीत संसदले जालझेलबाट विधेयक पारित गरेकोमा पनि डा. केसीले आपत्ति जनाउनुभएको छ ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण उक्त विधेयक आफूले भनेजस्तो नभएको बताउनुभएको थियो । अहिले जारी गरेको विधेयकले स्वास्थ्य सेवा दिने भन्दा पनि नेकपा पार्टीनिकट भएका व्यक्तिहरूलाई पोस्ने गरी ल्याइएको डा. केसीको बुझाइ छ । चिकित्सा शिक्षासँग सम्बन्धित मात्र नभएर द्वन्द्वकालिन मुद्दाका विषयमा उठाएका माग पनि पूरा गर्नुपर्ने केसीको भनाइ छ । डा. केसीले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट मात्रै अगाडि बढेको र राष्ट्रियसभामा गएर संशोधनको बाटो बाँकी रहेको बताउनुभएको छ ।

सरकारका कुनै पनि मन्त्रीले डा. केसीका बारेमा प्रतिवद्धता र वार्ता नगरेको बताइएको छ । यसैवीच, डा. केसीको स्वास्थ्य अवस्था बिग्रिने क्रम बढेको डा. जीवन क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँले नयाँ जटिलता नआए पनि क्रमशः बिग्रिने क्रममा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू