अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

दुइटा अण्डा- सुशील निरौला

सुशील निरौला २०७५ माघ १० गते २२:१९ मा प्रकाशित

कुरा २०४०/४१ साल तिरको हुनुपर्दछ। हामी (म र मेरो मावली दाइ ) कालिकास्थानमा एउटा कोठा भाडामा लिएर बसेका थियौ । बिहान दाइले खाना बनाउने बेलुका मेरो पालो पर्दथियो । पढाई तथा काम दुवै सँगै लानु पर्दा एकातर्फ फुर्सद कम हुन्थयो भने सीमित कमाइले डेरा भाडा , खाना र पढाई धान्न धौ धौ नै पर्दथियो । त्यसमा पनि कहिले काहि मासु खान पर्‍यो । मासु आएपछि साथमा सोम रस पनि चाख्नै पर्ने । त्यसमा पनि वेला कुबेला आउने पाहुना पासालाई आतिथ्य पनि पुर्‍याउनु पर्ने ।यस्तो अवस्थामा दिन चलेकै थियो जसो तसो ।

यसै क्रममा एक दिन दुई जना पाहुना हाम्रो डेरामा आई पुगे । यसो भलाकुसारी पछि थाहा भयो उहाँहरू त आफ्नो सङ्गठनको आन्दोलनमा भाग लिन जिल्लाको प्रतिनिधित्व गर्दै अनिश्चितकालको लागि काठमाडौँ आउनु भएको रहेछ र सिरानी लगाउने ठाउँको रूपमा हाम्रो डेराको भरमा हुनुहुँदो रहेछ । नाई भन्न पनि नसकिने नातामा मेरो मामा , दाइको काका हुनुभयो । जति नै असजिलो भए पनि लौ न त भन्नै परो ।

दुई जना मामा मध्ये सुपारी मामाले चैँ भान्जो भतिजको डेरामा जाने , पड्दै गरेका केटा के होला कसो होला भनेर एक महिना जतिलाई पुग्ने गरी चामल, दाल, चिउरा र ध्यु समेत लिएर आउनु भएको रहेछ भने अर्का दारी मामा चैँ खाली हात । त्यो वेलाको अवस्थामा सुपारीमामाको आर्थिक अवस्था भन्दा दारीमामाको अवस्था धेरै राम्रो ।

बेलुकाको खाना पछि केही बेर उहाँहरूसँग भलाकुसारी गरियो र उहाँहरूको भावी आन्दोलनको चर्चा परिचर्चा गर्दै सुतियो । भोलिपल्ट बिहान खान खाई वरी हामी दाजु भाइ आ-आफ्नो काम तिर लाग्यौ भने मामाहरू आन्दोलनमा भाग लिन ।

साँझ हामी डेरामा पुन: फर्किएर आएपछि थाहा भयो सुपारी मामा आन्दोलनको क्रममा पक्राउ पर्नु भएछ । पक्राउ गरेर कहाँ राखीएकोछ भन्ने कुनै जानकारी भएन । दारीमामा मात्र एक्लै साँझमा फर्कनु भयो ।

दिन बित्तै थिए एक दिन साँझ म कामबाट फर्केर आफ्नो पालो अनुसार खाना बनाउन लाग्दै थिए । दारीमामा पनि आई पुग्नु भयो । आई पुग्ने बित्तिकै लौ भान्जा मलाई त सारै भोक लागेको छ । यो अण्डा उसिनी दिउत भनेर अण्डाको पोको दिनु भयो । मैले मामा दाल पाक्न लागेको छ यो पाकेपछि यही कुकरमा उसिनी दिन्छु है भनेर राखे । दाल पाके पछि मामाले ल्याएको जम्मा दुइटा अण्डा उसिन बसाए । केही बेरमा दाइ पनि आई पुगो ।अण्डा तयार भएपछि मामालाई अण्डा तयार भएको जानकारी दिए । मामा मेरै छेउ आएर हामी कसैलाई खाऊ पनि नभनी एक्लै अण्डा खान थाल्नु भयो । खाऊ भान्जा भतिज सम्म भन्नु भएन जबकि मामालाई पनि थाहा छ , भान्जा भतिज पनि सँग सँगै कामबाट फर्किएका छन् भोकाएका होलान् भन्ने।

त्यो वेला उहाँलाई केही भन्न सकिएन । त्यो घटनाले त्यो वेला देखि अहिले सम्म पनि मेरो दिमागमा केही प्रश्न घुमिरहेको छ ।
के दारीमामा सँग तीनजनालाई कम्तीमा एक एक वटा नभए दुई । दुई वटा अण्डा किनेर ल्याउने पैसा थिएन की ?

उहाँले ल्याउनु भएको दुइटा अण्डा बाँडेर खाऊ भन्न किन सक्नु भएन ?

यो घटना पछि आजसम्म दुवै मामाहरू सँग मेरो पुन भेट हुन सकेको छैन ।

कुनै दिन सुपारी मामा, दारी मामा, मावली दाइ र मलाई कुनै संयोगले भेट गराएछ भने दारी मामा सँग यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछु ।

प्रतिक्रिया