अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठद्वारा ‘नव उद्घोष’ पत्रिका विमोचित

बिआरटीनेपाल २०७५ माघ ९ गते १२:०५ मा प्रकाशित

काठमाडौँ, ९ माघ । गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औ वर्षको पहिलो अङ्क विमोचन भएको छ ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेका हुन् । वि.सं. २०५१ सालमा स्थापना भएको साहित्यिक परिषद्को स्थापना नै मनभित्रै रहेका आफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोड्ने प्रयासको रूपमा लिइएको परिषद्ले जनाएको छ ।

पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कलाकार श्रेष्ठले साहित्यिक पत्रिका सार्वजनिक गरेकोमा परिषद्लाई बधाई दिए ।

उनले भने,‘तपाइहरूले साहित्यिक क्षेत्रमा एउटा नयाँ पाइला सुरु गर्नुभएको छ । साहित्यिक पत्रिका केही अङ्क निकाल्न सजिलै छ । तर, पछि त्यति सजिलो छैन । टिक्न गाह्रो छ । साहित्यिक सेवा भनेको सामाजिक सेवा पनि हो । मानिसको बौद्धिकता पाठकहरूमा बाँड्ने काम पनि हो । यो एक किसिमको बौद्धिक–सामाजिक सेवा हो ।’

त्यस्तै, उनले उक्त साहित्यिक पत्रिका आगामी दिनमा पनि निरन्तर बाहिर ल्याउन शुभकामना दिए । उनले भने,‘साहित्यिक पत्रिका निकाल्दाखेरि केही विषयमा केन्द्रित भएर निकाल्नुपर्छ ।’

उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्नेपनि धारणा राखे । श्रेष्ठले भने,‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ ।’ पत्रिकालाई कसरी किन्न योग्य बनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए । आफू कलाकार बन्नु पूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए । उनले भने,‘कुनै पनि साहित्यिक पत्रिका प्रकाशन गर्नु पूर्व आफ्ना पाठकहरूको चाहनालाई बुझेर र बजारको मागअनुसार प्रकाशन गर्नुपर्छ ।’
सम्पादक घायलले आफूहरूले आगामी दिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरू बाहिर ल्याउने प्रतिबद्धता जनाए । रचनाहरू पठाएर आफूहरूलाई सहयोग गर्न पनि घायलले आग्रह गरेका छन् ।

कार्यक्रममा पत्रकार तथा निर्देशक सानुकाजी थापा, संस्थाका आजीवन सदस्यद्धय गोविन्द बहादुर सिंह ठकुरी र विजय कार्कीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विजय बजिमय, राजु धिताल, कृष्ण प्रधान, प्रतिष्ठानका अध्यक्ष रामकाजी प्रधान, लव गाउँले, रामप्रसाद पन्त, विजय ध्वज थापा, ध्रुवराज खतिवडा, प्रकाश गफाडी, लव खड्कालगायतले आफ्ना साहित्यिक आ–आफ्ना रचनाहरू वाचन गरेका थिए । पत्रिकाका सम्पादक देवेन्द्र अर्याल ‘आँसु’ले आजको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू