अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

‘संसदीय मान्यतालाई आत्मसात गर्न सिक्नुहोस्’- रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:४६ मा प्रकाशित

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले संसदमा प्रस्तुत गर्न लागेको स्वास्थ्य सम्बन्धि विधेयक समितिमा छलफल गरेर ल्याइएको बताउनु भएको छ । प्रतिपक्षी कांग्रेसको अलोकतान्त्रिक शैलीप्रति कटाक्ष गर्दै उहाँले विधिसम्मत् तवरले संसदमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

प्रदेशको सुरक्षा नीति सम्बन्धि कार्यक्रममा सहभागी हुन ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा आइपुग्नुभएका मन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । कांग्रेसका सांसदसमेत सहभागी समितिबाट पारित भएको विधेयक रोक्नु आवश्यक नरहेको उहाँको भनाइ थियो । लोकतन्त्रमा विधि र प्रक्रिया महत्वपूर्ण रहेको भन्दै सरकारले सोही अनुरुप संसदमा विधेयक प्रस्तुत गर्ने उहाँले बताउनुभयो । रक्षामन्त्री पोखरेलले डाक्टर गोविन्द केसीको आन्दोलनलाई लक्षित गर्दै लोकतान्त्रिक मुल्यमान्यता अनुसार संसदीय मान्यतालाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।

मुलुकमा अहिले कानुनी र संरचनागत परिवर्तन हुन नसक्दा काम गर्न समस्या भएको बताउनुभयो । रक्षामन्त्री पोखरेलले कानुन र संरचनाको अभावका कारण काम गर्न समस्या भएको भन्दै आउँदो फागुन महिनासम्म कानुन परिवर्तनको काम सकेर अरु पक्रिया तालिने उल्लेख गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै उहाँले नेकपालाई पार्टी एकतासँगै अवसर र चुनौतिको सामना गर्नु परेको बताउनुभयो ।

सञ्चारकर्मीहरुको जिज्ञाशामा बोल्दै मन्त्री पोखरेलले पार्टीको केन्द्रदेखि जिल्ला तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिने विषयमा शीर्ष नेतृत्व गम्भीर रहेको बताउनुभयो । यस्तै वैदेशिक सहयोगका नाममा कालो धन सेतो बनाउन चलखेल गर्नेहरुलाई राज्यले कारबाही गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू