अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्ष गर्ने कांग्रेस तयारी

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:४४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्ष गर्ने तयारी गरेको छ । केन्द्रीय समिती बैठकको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भेला भएका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सरकारविरुद्ध कडा संघर्षमा उत्रने तयारीबारे छलफल गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार भोली बस्ने केन्द्रीय समिती बैठकले सरकारविरुद्ध संघर्षको औपचारीक निर्णय गर्नेछ । दुई अस्पतालको बिषयलाई लिएर सदन अवरोध गरिरहेको कांग्रेसले यही बिषयमा सरकारको प्रतिक्रिया कुरीरहेको छ ।

कांग्रेस पदाधिकारीहरुले भातृसंस्था नेपाल विद्यार्थी संघको पदावधि समाप्त भईसकेको कार्यसमितीका बिषयमा पनि अझै सहमती जुटाउन सकेका छैनन् । नेविसंघको कार्यसमितीको म्याद यही माघ २ गते नै सकिएकाले कांग्रेसले भोली बस्ने केन्द्रीय समितीबाट निर्णय लिन लागेको छ । तर नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा पार्टीका शिर्ष नेताहरुवीच झै मतभेद कायमै छ ।

बुधबार बसेको पदाधिकारीको बैठक समेत निष्कर्षमा पुग्न नसकेपछि यही बिषयमा केन्द्रीय समिती बैठकमा समेत तनाब हुने संकेत देखिएको छ । नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११ औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वा्चित भएको थियो । कूल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका सङ्घका नेता प्रेम जोशीले जानकारी दिनुभयो । केन्द्रीय समितीको बैठकमा नेविसंघको एजेन्डासहीत महासमिती बैठकले पारित गरेको पार्टीको विधान, समयसामयिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू