अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

परोपकारमा नायिका प्रियङ्का र नायक आयुष्मान, कमाइको १० प्रतिशत रकम छुट्ट्याइने

बिआरटीनेपाल २०७५ माघ ७ गते १३:२८ मा प्रकाशित

नायिका प्रियङ्का कार्की र नायक आयुष्मान देशराज जोशीले परोपकारी कामको लागि आयंका फाउण्डेशन घोषणा गरेका छन् । अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् । मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो । कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउण्डेशनको सुरु भएको उनीहरूको भनाई छ ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाइ, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रियङ्का कार्कीले जानकारी दिएकी छिन् । नायक आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पीडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ । यस्तो परोपकारका लागि आफ्नो कमाइको १० प्रतिशत रकम छुट्ट्याइने उनीहरूको प्रतिबद्धता छ । फाउण्डेशनको घोषणासँगै टोल सफाइमा सक्रिय हुने उनीहरूले बताएका छन् । आयंका फाउण्डेशनको मुख्य सल्लाहकार सरोज ओली हुन् ।

प्रतिक्रिया