अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

सिड्नीमा नेपाल आइडल–२ का विजेताको लाइभ कन्सर्ट

कृष्ण भट्टराई २०७५ माघ ७ गते १२:४९ मा प्रकाशित

सिड्नी– गायनमा आधारित लोकप्रिय रियालिटी सो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धीहरू पहिलो पटक अस्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन् ।

कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् । नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीत–सङ्गीत प्रस्तुत गरेर साथ दिने छन् । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । नेपाल आइडल–२ एपी वान टेलिभिजनको लोकप्रिय रियालिटी सो हो ।

आगामी फेब्रुअरी ८ अर्थात् माघ २५ गते शुक्रवार सिड्नीको लिभरपुल स्ट्रिटस्थि सार्क होटेलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेता सहित उत्कृष्ट छमा पुग्न सफल गायक–गायिकाहरू प्रस्तुत हुदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।

अस्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत् साङ्गीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ ।

नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दीपेश पुनले जानकारी दिएका छन् । ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाइएको छौँ’, पुनको भनाइ छ ।

स्थानीय समय अनुसार साँझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागी हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने आयोजक नेपाली टचका सीईओ राज के गोस्वामीले बताएका छन् ।

कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रिमा विश्वकर्माले गर्ने छन् । नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरूलाई पनि अस्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।