अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

निर्मलाको न्यायका लागि कांग्रेस सडक र सदनबाटै लड्छ – प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:५९ मा प्रकाशित

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सोमबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको न्यायका लागि सडक र सदनबाट लड्ने बताउनुभएको छ । उहाँले निर्मलाको घरमै पुगेर न्यायका लागि कांग्रेसले साथ दिने बताउनुभएको हो ।

कञ्चनपुर भीमदत्तनगरपालिका स्थित निर्मलाको घरमा पुग्नुभएका प्रवक्ता शर्माले कांग्रेसले सरकारलाई गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन दबाब दिँदैं आएको समेत बताउनुभयो । निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्ने उल्लेख गर्दै उहाँले घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्ने बताउनुभयो ।

भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्नुभएको थियो । यसैवीच, सोमबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोप लगाउनुभएको छ । दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको शर्माको दावी थियो ।

काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू