अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

पोखरामा पाल्पाली साङ्गीतिक साँझ तथा सम्मान सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७५ माघ ६ गते ११:५६ मा प्रकाशित

पोखरा, पाल्पाली समाज पोखराको स्थापनाको रजत जयन्ती अवसरमा समाजले आयोजना गरेको ‘पाल्पाली साङ्गीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ सम्पन्न गरेको छ । पोखरा सभागृह हलमा शनिवार सम्पन्न उक्त कार्यक्रम, सभागृह भित्र छिर्दा पाल्पा पुगेको अनुभूति सबैले गरेका थिए । तानसेन दरबारको झल्को दिने गरी सजाइएको मूलद्वारा र रानीमहलको स्वरूपमा सजाइएको मञ्चले सबै दर्शकहरूले उही पुगेको भान भएको भनेका थिए ।

पानसमा बत्ती बालेर उदघाटन गरिएको कार्यक्रममा पाल्पाली समाज र पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा प्रमुख अतिथि तथा मन्त्रिपरिषद् पूर्व अध्यक्ष खिल राज रेग्मीलाई अभिनन्दन गरिएको थियो । समाजका पदाधिकारी, प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, प्रदेश ५ मा प्रतिनिधित्व गर्ने पाल्पाली सांसद, स्थानीय जनप्रतिनिधि लगायतले प्रमुख अतिथि रेग्मीलाई सामूहिक सम्मान गरेका थिए ।

कार्यक्रममा आमन्त्रित अतिथि तथा कलाकार सबै जना एकै ड्रेसमा थिए । यो कार्यक्रम ऐतिहासिक रूपमा पहिलो पटक भएको थियो । पाल्पामा जन्मेका पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह राना, महानायक राजेश हमाल, कलाकार नारायण रायमाझी, बद्री पंगेनी, इन्द्र जिसी, दुर्गा रायमाझीलाई मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मी सहित समाजका पदाधिकारी तथा सल्लाहकारले सम्मान गरेका थिए ।

प्रमुख अतिथि रेग्मीले पाल्पाको गरिमा सर्वत्र फैलिएको चर्चा गर्दै यसको गरिमा जोगाइ राख्नुपर्ने सुझाव दिएका थिए भने महानायक राजेश हमालले आफू पाल्पाली भएकोमा गर्व महसुस गर्दै यसरी सम्मान गरेकोमा आभार व्यक्त गरे । ‘मलाई यसरी निरन्तर सहयोग र साथ नदिएको भए म अहिले यो अवस्थामा हुने थिइनँ, पाल्पाली भएकोमा गर्व छ’ हमालले भने ।

सो अवसरमा वरिष्ठ कलाकार नारायण रायमाझी, गायक दुर्गा रायमाझी, नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डे, बद्री पंगेनी, इन्द्र जिसीले आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

उक्त कार्यक्रममा पाल्पाको सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको भिडियो मार्फत झलक प्रदर्शन गरिनुका साथै पाल्पाको संस्कृतिको रूपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरियो । समाजका संरक्षक चिरञ्जीवी श्रेष्ठको भनाइ अनुसार, पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक, हाँसको छोयला लगायत खानाका परिकारका स्टलमा स्वाद लिनेको पनि उस्तै भीड लागेको थियो । 

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम संयोजक अनन्त अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन नायक दुर्गाराज पाण्डे र दुर्गा रायमाझीले संयुक्त रूपमा गरेका थिए । फोटो: परिचय नेटवर्क


 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू