अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको छ – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:५० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस तनहुँद्वारा बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल भएको बताउनुभएको हो । ‘हत्याको प्रमाण नष्ट गर्ने खोज्ने, कपडा पखाल्ने जस्ता कार्य स्पष्ट भए पनि हत्यारा पत्ता लगाउन नसक्नुले संरक्षणमा सरकारको संलग्नता मान्न सकिन्छ’ उहाँले भन्नुभयोे, ‘देशमा बलात्कार, हत्या, हिंसा तथा आतङ्क जस्ता आतङ्कित कार्यहरुलाई नियन्त्रण गर्न नसकेर सरकार असफल सावित भइसकेको छ ।’

नेपाली कांग्रेस सबैभन्दा लोकतान्त्रिक र समावेशी पार्टी भएको दाबी गर्दै देउवाले महिला, जनजाति, मधेसी, अल्पसङ्ख्यक सबैलाई समेटेर आरक्षण गरेको र अब पार्टी मजबुद भएर अगाडि बढेको बताउनुभयो । गोविन्दराज जोशीले आव्हान गरेको विशेष अधिवेशन स्थगित गर्न सभापति देउवाले आग्रह गर्नुका साथै नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको नाममा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज नगर्न सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै महामन्त्री डा. शशांक कोइरालाले आन्तरिक झगडाले गर्दा निर्वाचनमा पार्टी पराजित भएको बताउँदै एकजुट भएर अगाडि बढ्न सके पार्टीलाई अझै पनि जित्न सक्ने अवस्था कसैको नभएको दाबी गर्नुभयो । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री रामशरण कांग्रेसले सामूहिक नेतृत्वबाट पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल र जीवन परियार, नेका तनहुँका सभापति वैकुण्ठ न्यौपाने लगायतले व्यक्तिगत द्वन्द्वलाई पार्टीसँग तुलना नगरी पार्टीको विधि र विधानअनुरुप कमी कमजोरी र असन्तुष्टी पक्षलाई पार्टीसँग छलफलको प्रक्रियामा जानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू