अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

विश्वकै सवैभन्दा वृद्ध जापानी नागरिक मासानो नोनाकाको ११३ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:२७ मा प्रकाशित

विश्वका सवैभन्दा वृद्ध मानिस जापानी नागरिक मासानो नोनाकाको आइतबार निधन भएको छ । विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्ष पछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।  गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।

“हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उहाँ शनिबारसम्म सामान्य जीवन विताइरहनुभएको थियो । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गर्नुभएको छ,” उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ । छ भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए । कालान्तरमा उनी ५ सन्तानका बाबु बनेका थिए ।

उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए । उनको जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुश्ती हेर्ने र मिठाइ खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ । सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै बर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ ।

जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ वर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो । प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू