अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 06:52

जापानले ९ देशबाट कामदार लाने, नेपाल नवौँ नम्बरमा प्रस्तावित

बिआरटीनेपाल २०७५ माघ ५ गते ९:४१ मा प्रकाशित

जापान सरकारको महत्वकांक्षी योजनाका रूपमा लिइएको आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरू ल्याउने प्रक्रियामा भिसा प्रोसेसको लागी लिइने जापानी भाषाको जाँच पहिले प्रस्तावित ८ देश बाट १ थप गरिएको । भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड र म्यानमार लगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरी बाँकी एक देशसँग कुरा भइरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले आफ्नो समाचारमा लेखेको छ । प्रस्तावित बाँकी राष्ट्रहरूमा आठौँ राष्ट्र मङ्गोलिया छ भने नवौँमा नेपाल परेको छ । सोमबार बसेको बैठकमा न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो । आगामी २० तारिखसम्ममा फेरबदल गर्नुपर्ने केही भए गर्ने नत्र सो प्रस्तावलाई पारित गरिनेछ । त्यसको एक हप्तापश्चात् सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

जापान सरकारले श्रमिक अभाव कम गर्न बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ भने यससँगै कामदार ल्याउने देशहरूसँग सम्झौता गरी माध्यमबाट जापानमा काम गर्न आउने विदेशी कामदारलाई ठग्ने दलालहरूबारे सूचना सङ्कलन गर्ने वातावरणको निर्माण गर्ने पनि सरकारको उद्देश्य रहेको छ ।

जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरूले विदेशी कामदारबाट ठुलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि सरकारले दुई देशबिच सूचना आदानप्रदानलाई सहज बनाउने योजना गरेको हो ।

जापानको न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूसहित जापानमा आउने विदेशी कामदारहरूलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनका लागि तयारी गरिरहेको बताइएको छ । समाचार अनुसार जापानका विभिन्न स्थानमा गरी १०० वटा विदेशीहरूका लागि सहयोग केन्द्र खोल्ने तयारी भैरेहको छ जसले विदेशीहरूलाई आइपर्ने विविध समस्याहरूमा सहयोग र सल्लाह दिनेछन् ।

आगामी अप्रिल महिनाबाट अर्ध दक्ष र दक्ष कामदारको रूपमा दुई वटा भिसा प्रक्रियाबाट आउने विदेशी कामदारहरूले अनिवार्य भाषा र सिप परिक्षादिनुपर्ने छ । त्यसका लागि पनि तयारी भइरहेको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले लेखेको छ । भियतनाम, फिलिपिन्स सहित केही एसियाली देशमा प्राविधिक तथा सिप परीक्षा लिने आन्तरिक तयारी र योजना जापानले थालेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार जापानको सामाविक बिमा (स्याकाइ होकेन) नतिरेका कम्पनीलाई यो नयाँ स्किममा सामेल गराइने छैन ।

विभिन्न सरकारी सेवा, मेडिकल सेवा, आपद विपदका बेला दिइने सूचना, मोबाइल सेवा, लाइसेन्स लगायतका विदेशीहरूले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरूलाई समेत थप अद्यावधिक गरी विदेशी मैत्री बनाउने र जापानी बाहेक अन्य भाषामा समेत सेवा दिने तयारी जापान सरकारको छ ।

भिसा, सुरक्षा, ट्राफिक नियमका गाइड बुकहरू ११ भाषामा प्रकाशन गरिनेछ । जापानमै पढिरहेका विद्यार्थीहरूको हकमा यो आर्थिक वर्षबाट नै लागू हुनेगरि हाल बन्देज लगाइएका क्षेत्रहरूमा पनि रोजगारीका लागि मार्गप्रसस्त गर्ने निर्णय गरिएको छ । जसले सेन्मोन स्कुल सकेर पनि आफ्नै पढाइको क्षेत्रमा काम गर्न नपाउनेहरूका लागि पनि थप अवसर सिर्जना गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू