अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डलाई : नेपाल ७० रनले पराजित

बिआरटीनेपाल २०७५ माघ ५ गते ३:०५ मा प्रकाशित

थाइल्याण्ड टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डले जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपाल थाइल्याण्डसँग ७० रनले स्तब्ध हुन पुग्यो।

बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा १ विकेट गुमाउदै १२१ रन  बनायो। उसका लागि नाटाकान चानतमले ६९ रनमा अविजित रहिन भने चानिन्दा सुटिरुङ १९ रनमा नट आउट रहिन्। त्यस्तै नारुमोल च्वाइवाइले २७ रङ जोडिन्। अघिल्ला खेलमा उत्कृष्ट बलिङ गरेको नेपालले फाइनलमा भने खराब बलिङ गर्‍यो। थाइल्याण्डको १ विकेट पनि रन आउटको रूपमा झरेको थियो। १२२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १७.३ ओभरमा सबै विकेट गुमाउदै ५१ रनमा समेटियो ।

प्रतियोगितामा नेपालका लागि ब्याटिङतर्फ उत्कृष्ट योगदान गरेकी सीता रानामगरले १३ रन बनाइन् भने नेरी थापाले १७ रन जोड्नुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन। हारसँगै बाह्र वर्षपछि फाइनल खेल खेलेको नेपाल उपाधि जित्न भने असफल रह्यो। नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो।

समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएईलाई छ विकेटले तथा चौँथो खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो। सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन शुरु गरेको नेपाली महिला टोलीले पहिलो सहभागितामा प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो।

एसीसी वुमेन्स च्याम्पियनसिपको फाइनलमा त्यतिबेला नेपाल बङ्गलादेशसँग पराजित हुँदै उपविजेता भएको थियो। त्यसपछि नेपाली अन्डर–१९ महिला टोलीले उपाधि जिते पनि सिनियर महिला टिमले भने प्रतियोगिताको फाइनल यात्रा तय गर्न सकेको छैन।  महिला टि–२० एशिया कप– २०१२ मा नेपाल समूह चरण पार गर्न सकेन भने २०१३ को वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललाई थाइल्याण्डले पराजित गर्यो। पछिल्लो समय खस्किएको महिला क्रिकेट टोलीलाई यो पटक राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका विनोद दासले प्रशिक्षण गरिरहेका छन्। टिमको सफलतामा दासको प्रशिक्षणलाई प्रमुख कारण मानिएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू