अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

देउवा उपस्थित नभएपछि संवैधानिक परिषदको बैठक स्थगित

बिआरटीनेपाल २०७५ माघ ४ गते ७:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको छ।  संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको  बैठक प्रमुख प्रतिपक्ष दलका नेता देउवा उपस्थित नभएपछि स्थगित गरिएको हो।

बैठकमा परिषदका सदस्यहरूबीच विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा भने सामान्य छलफल भएको थियो। प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित भएपछि बैठक आगामी आइतबार ६ गते अपरान्ह ४ बजे पुनः बस्ने गरी स्थगित गरिएको परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।

कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा पार्टी कामको शिलशिला भनेर पोखरा पुग्नुभएको छ ।। संवैधानिक व्यवस्था अनुसार परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने हुन्छ।

संविधानको धारा २५२ देखि २६५ सम्म विभिन्न आयोग गठन, आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार ती आयोगहरूको अध्यक्ष तथा सदस्यहरू संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरूको पदावधी ६ वर्षको हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू