अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको: काङ्ग्रेस नेता डा. महत

बिआरटीनेपाल २०७५ माघ ३ गते ९:३६ मा प्रकाशित

घोराही, नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ ।

घोराहीमा पत्रकारसँगको कुराकानीमा नेता महतले विगतको सरकारले सुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो । “विगतको सरकारले देशभर १२-१३ हजार सानाठूला आयोजना सुरु गरेको थियो । ती आयोजना अहिले अलपत्र अवस्थामा छन्”, नेता महतले भन्नुभयो, “विकास बजेट कसरी खर्च हुन्छ रु आयोजनाको काम सुरु भएपछि बजेट खर्च देखिने हो । विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुपर्‍यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुपर्‍यो ।”

उहाँले सरकारले सम्पूर्ण आयोजनालाई पार्टी करण तथा नेता करण गर्न खोजेकोसमेत आरोप लगाउनुभयो । काङ्ग्रेसको नेतृत्वमा सुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामकरण गरेको उहाँको आरोप थियो ।

नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताउनुभयो । “सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवर्द्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजी क्षेत्र भागाभागको अवस्थामा छ, निराश छ”, नेता महतले भन्नुभयो, “सरकारले निजी क्षेत्र लगानीलाई प्रोत्साहन गर्नै पर्छ ।”

उहाँले काङ्ग्रेसभित्र ठुलो समस्या रहेकोसमेत खुलासा गर्नुभयो । पछिल्लो समय काङ्ग्रेस धेरै पछाडि परेको भन्दै उहाँले नेतृत्वमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । “काङ्ग्रेस अहिले धेरै पछि परेको छ, पार्टीको भित्री व्यवस्थापन र नेतृत्वमा समस्या छ”, उहाँले भन्नुभयो, “नेतृत्वमा सुधार गर्दै जाने, व्यवस्थापन गर्दै जाने कुरामा हामीले कोसिस गरिराखेका छौँ र काङ्ग्रेस नयाँ दिशामा अगाडि बढ्छ ।”

उहाँले वाइड बडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको जिकिर गर्नुभयो । नेता महतले छानबिन समितिको अध्ययन र अदालतको प्रक्रियाले पुष्टि गर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू