अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

एनआरएन अमेरिकाको ‘फिजिकल मिटिङ’ सम्पन्न

बैठक चुनाव केन्द्रित

बिआरटीनेपाल २०७५ पुष ३० गते १९:५० मा प्रकाशित

न्यु योर्क, गैरआवासीय नेपाली सङ्घ अमेरिका (एआरएनए युएसए) कार्यसमिति बैठकले एनआरएनको आसन्न निर्वाचनलाई लक्षित गर्दै तीन वटा समिति गठन गरेको छ । 

न्यु योर्कको ज्याक्सन हाइटमा शनिवार भएको बैठकले स्वाराज खातीको संयोजकत्वमा सूचना तथा प्राविधिक समिति, तारा निरौलाको संयोजकत्वमा सुपरिवेक्षण समिति र रामकुमार सुवेदीको संयोजकत्वमा थर्ड पार्टी भेरिफिकेसन आन्तरिक समिति गठन गरेको छ । एनआरएनएयुएसएको आसन्न चुनावको तथा प्राविधिक पक्ष हेर्न सूचना तथा प्राविधिक समिति, सदस्यता मामिला छानबिनका लागि थर्ड पार्टी भेरिफिकेशन कमिटी र यसलाई परामर्श दिन सुपरिवेक्षण कमिटी गठन गरेको हो । 

‘मुख्य रूपमा इलेक्सनलाई कसरी स्वच्छ, निष्पक्ष र सहज बनाउन सकिन्छ भन्ने विषयमा २/३ वटा निर्णय गर्‍यो, ’एनआरएनए युएसएका अध्यक्ष डा. केशव पौडेलले बिआरटिनेपाल डटकमलाई भने, यी समितिहरू सदस्यता वितरण विवादरहित बनाउन र निर्वाचन स्वच्छ बनाउन गठन गरिएको उनको भनाइ छ । अमेरिकामा एनआरएन सदस्यता वितरण विवादमा पर्दै आएको छ । सदस्यता वितरण तथा नवीकरणलाई विवाद रहित बनाउनका लागि बैठकले विभिन्न समिति पनि गठन गरेको छ ।

निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन निर्वाचनको एक महिना अघि मात्र उम्मेदवारी घोषणा गर्ने र अभियान सुरु गर्ने आचारसंहिता बनाएको पनि अध्यक्ष पौडेलले बताए । अध्यक्षका प्रत्यासीहरुले चुनाव लक्षित गतिविधि अनौपचारिक रूपमा सुरु गरिसकेको अवस्थामा अध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले आचारसंहिताले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन आचारसंहिता बनाएको बताए । ‘आचारसंहिता मिचे कारबाही त केही हुँदैन,’ उनले भने, ‘सम्भावित प्रत्यासी उमेद्वारहरुले नै आचार संहितामा हस्ताक्षर गरेकाले उहाँहरूले यसलाई मिच्नुहुन्न भन्ने मेरो विश्वास छ ।’ अध्यक्षका प्रत्यासीहरुले अनौपचारिक रूपमा चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका छन् । 

एनआरएनए न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले फिजिकल मिटिङ ३ चरणमा भएको बताए । उनका अनुसार पहिलो चरणमा च्याप्टर अध्यक्षको प्रगति विवरण प्रस्तुति गरेको, दोस्रो चरणमा एनसीसीको फिजिकल मिटिङ भएको र तेस्रो चरणमा मेम्बरशीप ड्राइभ गाला डिनर कार्यक्रम राखिएको छ । 

एनआरएन अमेरिकाका अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले हाल सम्मको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । प्रतिवेदन अनुसार एनआरएन अमेरिकाको अहिले सम्म ४५ हजार ३ सय १५ अमेरिका डलर बचत रहेको छ ।

बैठकमा कार्यसमितिका ३३ मध्ये २९ जना सदस्य सहभागी थिए । यस्तै बैठकमा एनआरएन उत्तर अमेरिकाका क्षेत्रीय उप संयोजक नवीन शेरचन, एनआरएनए सल्लाहकार, आईसीसी सदस्य, विभिन्न विभागका प्रमुखहरू पनि सहभागी थिए । एनआरएनए युएसको चुनाव करिब ६ महिनामा हुँर्दछ । 

 

 

फोटो: प्रेम राई

प्रतिक्रिया