अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

बैँसमा लाको पिरती हलचल… भन्दै आए केशव (भिडियोसहित)

बिआरटीनेपाल २०७५ पुष ३० गते ११:३५ मा प्रकाशित

पछिल्लो समय परदेशमा बस्ने नेपालीहरू गीत, सङ्गीतको क्षेत्रमा धेरै उदाएका छन् । कतिपयले उतै नेपाली गीत रेकर्ड पनि गर्ने गरेका छन् भने केहीले यता आएको मौकामा गीत रेकर्ड गराउँछन् । नेपाली गायक, गायिकाहरूका गीतमा मोडलिङ गर्ने र भिडियो बनाइदिने परदेशीहरूको सङ्ख्या त अझ ठुलो छ । यसरी काम गर्नेहरूमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका र गैरआवासीय नेपालीहरू नै धेरै छन् ।

परदेशमा बसेर नेपाली गीत, सङ्गीतप्रति उनीहरूले देखाएको मायाले नेपाली सङ्गीत क्षेत्रलाई टेवा नै पुगेको छ । परदेशमा बस्दा नेपालको सम्झना र माया धेरै हुने भएकोले पनि उनीहरूले यो क्षेत्रमा लगानी गरिरहेका छन् भन्न सकिन्छ । अर्को कारण त नाम कमाउने वा चर्चामा आउने छिटो र छरितो माध्यम पनि गीत, सङ्गीत नै हो र तेस्रो कारण भनेको आम्दानी गतिलो हुने भएकाले उनीहरूलाई लगानी गर्न सहज छ । जे र जुन कारणले नेपाली गीत, सङ्गीतमा लगानी गरेको भए पनि यसले नेपाली गीत, सङ्गीतको श्रीवृद्धिमा ठुलो योगदान पुर्‍याइरहेको छ ।

यस्तै क्रममा हाल अमेरिका बस्दै आएका केशव शर्मा दाहाल नेपाल आएको क्रममा खुसुक्क गीत रेकर्ड गराएर फर्किए । पूर्वेली भाकाको ‘बैँसमा लाको पिरती हलचल भन्छन्…’ बोलको गीतलाई स्टुडियो कभरको रूपमा अहिले युट्युबमा पनि सार्वजनिक गरिएको छ । यो उनको रेकर्ड भएको पहिलो गीत हो । हुन त यसअघि पनि नेपाल तथा अमेरिकाका विभिन्न कार्यक्रममा उनले नारायण गोपाल, फत्तेमान, भक्तराज आचार्यहरूका गीतहरू गाएर सुनाउँदै आएका थिए । तर अब भने यो गीतले केशवलाई गायकको रूपमा चिनाएको छ ।

यो गीतको शब्द तथा सङ्गीत सुवास चाम्लिङको रहेको छ । यसको सङ्गीत एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् । उनले यो गीतको भिडियो पनि चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

नेपाल भ्रमणको क्रममा उनले अर्को एउटा गीत पनि रेकर्ड गरिएको सुनाए । सो गीत भने केही दिनपछि मात्रै सार्वजनिक हुने उनले बताए ।

Song – Baishama Lako Pirati
Singer: Keshab Sharma Dahal
Lyrics/Music: Subash Chamling
Music Arranger: Chandu Gorkhali
Recordist: Prakash Kharel
Cameraman: Chakra Maharjan
Edit/Direction: Pasang
Translator: Pramod Pradhan

प्रतिक्रिया