अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

नेकपाको ‘शक्तिशाली’ कार्यदल नै अलमलमा

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:५४ मा प्रकाशित

पुस मसान्तभित्र बाँकी रहेका सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा पाएको सत्तारुढ नेकपाको कार्यदलले उक्त समयभित्र प्रस्ताव तयार गर्न नसक्ने भएको छ । पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन र जनवर्गीय सङ्गठहरूको एकीकरण प्रस्ताव तयार गर्न नेकपाको स्थायीक कमिटी बैठकले ९ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदललाई पौष १६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस मसान्तभित्र काम सक्न निर्देशनसमेत दिनुभएको थियो । तर कार्यदलले उक्त समयभित्र आफ्नो काम नसक्ने भएको छ । कार्यदलमा रहेका चार मन्त्रीको कार्यव्यस्तताका कारण केही दिनयता कार्यदलको बैठक बस्न नसकेको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो ।
कार्यदलले पुस मसान्तभित्र आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई प्रस्ताव गरेपछि स्थायी कमिटीको अर्को बैठक बसेर सो प्रस्तावबमोजिम बाँकी काम टुङ्ग्याउने अध्यक्षद्वयको प्रस्ताव थियो ।

साथै माघ महिनाभर एकीरणका सबै काम टुङ्ग्याएर बैठक आयोजना गर्ने अध्यक्षहरूको प्रस्ताव थियो । तर कार्यदलले पुस मसान्तभित्र आफ्नो काम नसक्ने भएपछि माघ महिनामा एकीकरणका काम सम्पन्न गर्ने अध्यक्षद्वयको प्रतिबद्धता पनि पूरा नहुने देखिएको छ ।

कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेल, सुरेन्द्र पाण्डे योगेश भट्राई, बेदुराम भुसाल र लेखराज भट्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू