अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

मुलुकको एकीकरण गरेकाले पृथ्वीनारायणको सम्मान – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:३२ मा प्रकाशित

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताउनुभएको छ । शुक्रबार २९७ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उहाँले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताकारूपमा शाह रहेकाले सरकारले उहाँको जन्मजयन्तीलाई सम्मान गरेको बताउनुभयो ।

“नेपालमा रहेका धर्म, संस्कृति, भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो”–उहाँले भन्नुभयो–“त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।” पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने मन्त्री पोखरेलको भनाई थियो ।

रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभइ शाहले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताउनुभयो । पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने उहाँको धारणा थियो ।
शोभायात्रामा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हुँदै सिंहदरबार पुगेर समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू