अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

विज्ञ सम्मेलनको सारांश एवं सुझाव प्रधानमन्त्री समक्ष पेस

बिआरटीनेपाल २०७५ पुष २६ गते ११:५२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घले गत अक्टोबरमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरू प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गत बिहीबार सम्माननीय प्रधानमन्त्री केपी शर्मासँग शिष्टाचार भेट गरी सङ्घका अध्यक्ष भवन भट्टसहित गएको पदाधिकारीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेस गरेको हो ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली सङ्घले पछिल्लो समय गरेको गतिविधि र विशेषतः ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताउनुभयो । सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली सङ्घले आर्थिक लगानी सँगसँगै ज्ञान, सीप र प्रविधिको लगानीलाई महत्त्व दिनुलाई सरकारले सकारात्मक रूपमा लिएको उहाँको भनाई थियो ।

नेपालमा नलेज बैङ्क स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उहाँले अरू सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले नेपालमा रहेको हिमाली श्रृंखलाले उपमहाद्वीपको वातावरण सन्तुलनमा खेलेको भूमिकामा सतर्क गराउन आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली सङ्घको पछिल्ला गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँले विज्ञ सम्मेलनको सारांश पेस गर्नुहुँदै सङ्घले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराउनुभयो । साथै उहाँले भिजिट नेपाल २०२० लगायत सरकारले लिएका कार्यक्रमहरू सफल पार्न सङ्घ लागि पर्ने विश्वास दिलाउनुभयो ।

यस्तै सङ्घका उपाध्यक्ष एवं सम्मेलनका संयोजक कुमार पन्तले अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको पृष्ठभूमि लगायत सम्मेलन सम्पन्न गर्नका लागि गरेका सम्पूर्ण गतिविधिको बारेमा स्मरण गराउनुभएको थियो । यस्तै सम्मेलनका अर्का संयोजक हेमराज शर्माले सम्मेलनको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । सङ्घद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

फरक प्रसङ्गमा शङ्का पदाधिकारीहरूले संसद्मा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विद्येयकलाई सङ्घले राखेको सुझाव सहित पारित गरी कार्यन्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, विज्ञ सम्मेलन समितिका सदस्य हरि दाहाल, सल्लाकार डा. हेमराज शर्मा, आइसीसी सदस्य राशरण सिम्खडा, अनरेरी काउन्सिलका संयोजक गोविन्द सुवेदी सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू