अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

डा. केसीको १६ औं सत्याग्रह शुरु

बिआरटीनेपाल २०७५ पुष २५ गते ८:४० मा प्रकाशित

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थाल्नुभएको छ । गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको सत्याग्रह इलामबाट थाल्नुभएको हो ।

मंगलबार इलाम पुग्नुभएका डा.केसीले बुधबार साँझ पत्रकार सम्मेलन गरी १६ औं सत्याग्रह घोषणा गर्नुभएको हो । उहाँ साँझ ५ बजेदेखि सदरमुकामको केही महिनाअघिसम्म सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको निजी भवनमा ६ बुँदे मागसहित सत्याग्रह बस्नुभएको छ ।

१६ औं सत्याग्रहका मागको पहिलो बुँदामा १५ औं सत्याग्रह पछि गत साउन १० मा सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने उल्लेख छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतलाई तत्काल बर्खास्तीलगायत कारबाही गर्न, त्रिवि पदाधिकारीद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्न र कृषि तथा वन विश्ववद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषद्को निर्णय बाबजुत चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गर्न डा. केसीको माग छ ।

यस्तै, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनु पर्नेदेखि कञ्चनपुरकी बालिका निर्मला पन्तमाथि बलात्कार र हत्या गर्नेबिरुद्ध कारबाही गर्नसमेत उहाँले माग गर्नुभएको छ । १६औं सत्याग्रहक्रममा डा.केसीले सशस्त्र द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्रा्ष्ट्रिय कानुनअनुसार दण्डित गर्नुपर्ने र द्वन्द्वपीडितको माग सुनुवाई गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पु¥याउनुपर्ने मागसमेत थप्नुभएको छ ।

गत साउन १० को सहमतिपछि विज्ञप्ति निकालेर डा.केसीले ऐन ल्याउन पुस १७ सम्मको अल्टिमेटम दिनुभएको थियो । जुम्लामा २७ दिन आमरण सत्याग्रहमा बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग गर्नुभएको छ । गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो।

आगामी १० वर्ष्भित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो । तर, उहाँसँगको सहमतिका बुँदाभन्दा फरक व्यवस्थासहितको विधेयक बुधबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेपछि डा.केसी सत्याग्रहमा बस्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू