अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

जनतालाई धनी बनाउन नसके कम्युनिष्टहरुको काम छैन – प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष २५ गते ८:२८ मा प्रकाशित

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धनी बनाउन नसके कम्युनिष्टहरुको कुनै काम नहुने बताउनुभएको छ । चितवनमा बुधबारदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो । “मुलुकमा अहिले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकार छ , जनतालाई धनी र सम्पन्न बनाउन नसक्ने हो भने कम्युनिष्ट पार्टीको काम छैन”, प्रचण्डले भन्नुभयो ।

देशको लागि अवको दश बर्ष निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विकाशको स्पष्ट कार्य दिशासहित अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । सरकारसंगै निजी क्षेत्रको सक्रिय सहभागिता विना मुलुकको समृद्धि सम्भव नहुने उहाको भनाई थियो । पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने उहाँले प्रष्ट पार्नुभयो । “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै मुलुकका अबका समस्या रहेको उहाँको भनाई थियो । “१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ,” राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल,नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्दे्शिकाको अध्यक्ष प्रचण्डले विमोचन गर्नुभएको थियो । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू