अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न

बिआरटीनेपाल २०७५ पुष २३ गते २२:४८ मा प्रकाशित

अमेरिका, तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर सहरमा शनिवार राती भव्य समारोहबिच सम्पन्न सो अवार्ड समारोहमा यस पटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् ।

यस्तै स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिली बिली गरी दुवै फिल्म सफल भएको थियो । सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले चुमिन । उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी छिन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले सँयुक्त रूपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को ब्यबसायिक फिल्म छक्का पन्जा २ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपा श्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हासिल गरिन् । यस्तै सह अभिनेताको अवार्ड पनि चलचित्र छक्का पञ्पजा २ बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पनि छक्का पन्जा २ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाकारको अवार्ड पनि चलचित्र छक्का पन्जा २ बाटै पुरुषोत्तम प्रधानले हासिल गरेका छन् । 

कलाकार एवम् प्राविधिक बिच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले जितिन् । सङ्गीत तर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पल…ले हासिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेल वर्षको सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे । 

चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको कले दाइ…बाट गायिका मिना निरौलाले हासिल गरिन् । हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसन int’l प्रेसिडेन्ट नारायण श्रेष्ठ र हलिउडका निर्देशक कलाकार एभ क्रुज प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यस पटक ३५ औँ संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक शुरेश दर्पण पोखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरूको योगदानको कदरस्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताए ।

दिवङ्गत दुई स्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको स्वर्गीय श्री गेहेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र श्री राम केशर बोगटी स्मृति सम्मान २०१८बाट अभिनेता बिक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मानित गरियो । यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेता गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुङ्गानालाई सम्मानित गरियो । यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ सुशील क्षेत्रीलाई र अभिनेत्री तर्फ सारँगा श्रेष्ठलाई, निर्माता तर्फ प्रेम पौडेल र वितरण तर्फ रायन रेजलाई प्रदान गरियो । 

नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनै जना नेप्जिल भुटनिज कलाकार हुन् । विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्ड जसवन्त देव श्रेष्ठ (अमेरिका), ईश्वरराज थापा (क्यानडा), विक्रम जोशी (युके), स्मृति पोखरेल (अस्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो । ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाइटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सल्लाहकार अभिनेता शिव श्रेष्ठ हुन् ।

अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मदुकुमार श्रेष्ठ, शिव श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुङ्गाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेव त्रिपाठीलगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए । अमेरिकामा रहेका सबैजसो सिने कर्मी र विभिन्न पेसामा आबद्ध नेपालीहरूको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सञ्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यालिफोर्निया अनुशा कार्कीले गरेका थिए ।

प्रतिक्रिया