अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

पर्यटनमन्त्री अधिकारीको ताकेताले गौतमबुद्ध विमानस्थलले लियो तीब्र गति, ६० प्रतिशत निर्माण सकियो

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:२४ मा प्रकाशित

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्रा्ष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ ।

धावनमार्गको कालोपत्रको काम सम्पन्न भएपछि विमानस्थलको भौतिक निर्माण प्रगति ७५ प्रतिशत माथि पुग्नेछ । आगामी दुई महीनाभित्र कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार पछिल्लो नौ महीनामा आयोजनालाई अगाडि बढाउन दर्जनौँपटक स्थलगत अनुगमन गरिएको, निर्देशन एवं समन्वयबाट तत्काल समस्या समाधान गरिएका कारण आयोजनामा उल्लेख्य प्रगति भएको हो ।

मन्त्री अधिकारीले भन्नुभयो, “करीब करीब सुस्त अवस्थामा रहेको विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यसले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हुने एयर ट्राफिकको समस्या समाधान पनि सहयोग पुग्नेछ ।” विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने कार्य युद्धस्तरमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रमेश अधिकारीका अनुसार पहिलो चरणको कालोपत्र सम्पन्न गरी हाल धमाधम दोस्रो चरणको कालोपत्र भइरहेको छ । तेस्रो र चौथो चरणको कालोपत्र सम्पन्न भए पनि विमानस्थलमा जहाज उडान तथा अवतरणका लागि योग्य हुनेछ ।

आयोजना प्रमुख अधिकारीले दिनुभएको जानकारीअनुसार हाल टर्मिनल भवनको ढलान कार्य सकिएको छ । यस्तै टुयाक्सी बे, एप्रोनको कामसमेत सकिएको छ । विमानस्थलको पूर्वभागबाट हाल कालोपत्र गर्ने काम भइरहेको र आगामी २० दिन जतिमा सो कार्य सम्पन्न हुनेछ । यस्तै यस्तै नेभिगेसन तथा अन्य अत्यावश्यक भवनको कामसमेत अन्तिम चरणमा पुगेका छन् । गोदाम तथा कार्गो भवन निर्माणको शिलान्याश केही दिन पहिले मात्रै भइसकेको छ ।

राष्ट्रिय गौरवको सो आयोजना समयमै सम्पन्न हुन लागेको र पहिलोपटक काठमाडौँ उपत्यका बाहिर अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीमा पुगेको मन्त्री अधिकारीको भनाइ छ । सो आयोजनाको ठेकेदार र स्थानीय ठेकेदार लगायतको विवादका कारण आयोजना समस्यामा पर्दै आएको अवस्थामा पछिल्लो नौ महीनामा उल्लेखनीय प्रगति भएको, दातृनिकाय, निर्माणकर्ता, स्थानीय समुदायसँग निरन्तर संवादमार्फत समस्याको हल गरिएको मन्त्री अधिकारीको भनाइ छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम पनि तोकिएको समयभन्दाअगावै सम्पन्न गर्ने गरी काम भइरहेको छ । सन् २०२१ मा सो आयोजना निर्माण सम्पन्न गर्ने बताइएको भए पनि तोकिएको अवधिभन्दा करीब छ महीना पहिले नै सम्पन्न हुने हालको प्रगतिले देखाएको मन्त्री अधिकारीको भनाइ छ ।

यस्तै मुलुकको एकमात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई सुधार प्रक्रिया अगाडि बढाइएको छ । सरकारले सो विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ मा परिणत गर्ने योजनास्वरुप नेपाली कलात्मक सामग्री राखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण घोषणा गरेको तथा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकामा विमानस्थलाई परम्परागत, मौलिकस्वरुप र अत्याधुनिक सुविधायुक्त बनाई अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार बनाउने योजना अगाडि सारिएको छ ।

विमानस्थललाई दैनिक २१ घण्टा सञ्चालन गरी हवाई ट्राफिक चापसमेत घटाइएको मन्त्री अधिकरीको भनाइ छ । आगामी छ महीनाभित्र सो विमानस्थलको धावनमार्ग पुनःनिर्माण गर्ने र विमानस्थल विस्तार परियोजनामा रहेका समस्या समाधानको दिशामा अगाडि बढेको छ ।

रणनीतिक महत्वका र दुर्गममा सेवा प्रवाह गर्ने आन्तरिक विमानस्थलको स्तरोन्नति तथा मर्मतसम्भार गरी कुशलरुपमा सञ्चालन गर्ने र ग्रामीण जनताको आवतजावतका आधारभूत संवैधानिक हकको प्रत्याभूतसमेत गर्ने गरी नेपाल वायुसेवा निगमको आन्तरिक उडानका लागि थप जहाज खरीद गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्री अधिकारीको भनाइ छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा निगमलाई थप व्यावसायिक र नाफामूलक बनाउन रणनीतिक साझेदार भित्र्याउने प्रक्रियासमेत अगाडि बढिसकेको र सेवा, सुविधा तथा गुणस्तर वृद्धिमा ध्यान दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया