अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

रेशम चौधरी थुनामुक्त नहुने, सर्वोच्चद्वारा तल्लो अदालतको फैसला सदर

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:१९ मा प्रकाशित

सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
सर्वोच्चले “चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ” भनि फैसला सुनाएको हो ।

जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेश विरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गर्नुभएको थियो । उच्च अदालतले समेत जिल्लाकै आदेश विसं २०७४ चैत २२ गते सदर गरेपछि चौधरीले उक्त निर्णय बदर गरी पाउँ भनि सर्वोच्च अदालतमा जानुभएको थियो ।

चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ । सो घटनापछि फरार रहेकै अवस्थामा चौधरीले कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । चौधरीलाई यही पुस १९ गते सभामुख कृष्णवहादुर महराले सपथ गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू