अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

रविको छवि बिगार्ने हब्बी कसैले नराखे हुन्छ

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ पुष २३ गते ०:२२ मा प्रकाशित

रवि आजको दिनमा नेपालका असली समाज सुधारक र खोज पत्रकार हुन । अहिलेको व्याप्त व्यभिचार, भ्रष्टाचार र बलात्कार जस्ता जघन्य अपराधहरू भएको जर्जर स्थितिमा रविको खोज पत्रकारिता उदाहरणीय, अनुकरणीय र स्वागतयोग्य छ ।

रविको पारिवारिक र व्यक्तिगत जीवनलाई लिएर कतिपय व्यक्ति र पत्रकार हरूले उन्को चरित्र हत्या गर्नु र गराउन खोज्नु सर्वथा अनुचित र गलत कदम हो ।

विभिन्न सोच, प्रवृत्ति र प्रकृतिका दम्पतीहरू भिन्न पारिवारिक पृष्ठभूमि, स्वभाव र संस्कारबाट आएका हुनाले आपसमा मतभिन्नता र मनमुटाब हुनु स्वाभाविक हो । हिन्दु सभ्यता र संस्कृति अनुसार पारपाचुके (divorce) गर्नुलाई निको मानिँदैन तर पनि सधैँ अशान्ति र तनावमा बाँच्नुभन्दा आपसी सहमतिबाट क़ानूनी रूपमै छुट्टिएर बस्नु उचित हो । रविले त्यसै गरेछन् । आफ्नी पूर्व पत्नीलाई रविले आफ्नो सबै धन- दौलत घर- जग्गा दिई सकेको कुरा उन्की पूर्वपत्नी इसाबाटै सार्वजनिक रूपमै खुलासा भई सकेको छ । साथै छोरी हरूको शिक्षा- दीक्षा, बिहे दान, र शान्ति- सुरक्षा सम्मको जिम्मा समेत रविले लिई सकेका रहेछन् ।

क़ानूनी रूपमा पारपाचुके भई सकेपछि अर्को विवाह गर्न पाउने संवैधानिक, क़ानूनी र नैसर्गिक अधिकार हरेक व्यक्तिमा निहित हुन्छ । रवि र इसा दुवैको सार्वजनिक अभिव्यक्तिबाट यो प्रतीत हुन्छ कि कसैले कसैलाई अपराध गरेका रहेनछन् । केवल एक अर्का प्रतिको दाम्पत्य माया र प्रेममा क्रमशः कमी आएको रहेछ । र, अन्ततोगत्वा क़ानूनी तवरबाट पारपाचुके भएको स्थिति रहेछ ।

रत्नकार डाकूँ पनि बाल्मिकी ऋषि भएका थिए । रविले अतीतमा पनि घरायसी अन्याय र अत्याचार गरेको पाइँदैन । वर्तमानमा त उनी एउटा निडर, निर्भीक र इमानदार पत्रकारका रूपमा अन्तर्राष्ट्रिय जगतमै प्रतिष्ठित भई सकेका छन् ।

विदेशमा लिभिंग टुगेदारको सर्तमा केटा- केटी सँगै बस्नुलाई पनि सामान्य रूपमै लिईन्छ । रवि कहाँ कहाँ कुन-कुन केटीसँग बसे त्यो कुरा हाम्रो सरोकार र खोजीको विषय हैन ।

अहिले रवि के गर्दैछन र कसको हितमा गर्दैछन भन्ने कुरा प्रमुख हो । अहिले सम्म नेपालमा कसैले पर्दाफास गर्न नसकेको व्याप्त भ्रष्टाचार, अत्याचार र बलात्कारको कथा- व्यथा हरूलाई उजागर गरी दिएका छन् । यो नेपाल र नेपाली जनताको हितमा छ ।

रविले अमेरिकाको ग्रीनकार्ड र नागरिकता समेत त्यागेर स्वदेश र जनताको हक र हितमा काम गर्ने पवित्र सोच लिएर अद्यपरिमित जुन साहसिक खोज पत्रकारिता गरी रहेका छन्; त्यो स्वागतयोग्य छ ।

अब अर्को बिहे गर्ने कुरा उन्को निजी मामला हो । कसैको व्यक्तिगत र पारिवारिक जीवनमा औँला उठाउनु सर्वथा गलत सोच हो । हरेक व्यक्तिले आफ्नो निजी जीवनको निर्णय खुद लिन पाउनु पर्छ ।

आजका अधिकांश भ्रष्टाचारी, व्यभिचारी र बलात्कारी नेताहरू भन्दा रवि कैयौँ गुणा असल छन् । पीत पत्रकारिता, चाकडी, चुक्ली र चाप्लुसी गर्ने तथाकथित कतिपय पत्रकारहरू भन्दा रवि निकै अब्बल दर्जाका लोकप्रिय, देशभक्त र स्वाभिमानी पत्रकार हुन ।

हामी प्रवासमा बस्ने सबै सबै साथीहरूको सादर समर्थन, सहयोग र साथ छ रविजीलाई ।

रविजी को पत्रकारिता देश र जनताको पक्षमा निरन्तर अक्षुण्य रहोस् । शुभकामना छ ।