अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

नेकपा कार्यदल गोप्य छलफलमा

बिआरटीनेपाल २०७५ पुष २२ गते १९:२९ मा प्रकाशित

काठमाडौं  ।  नेकपाले संगठनात्मक एकताका लागि चौथोपटक बनाएको शक्तिशाली कार्यदलले काम थालेको छ । शुक्रबारबाट कार्यदलले आफूलाई दिएको जिम्मेवारीअनुसार छलफल सुरु गरेको छ । आइतबार पनि कार्यदलले ललितपुरको एक होटलमा छलफल गरेको थियो । ‘छलफल सुरु गरेका छौं, पार्टीले दिएको जिम्मेवारीअनुसार काम थालेका छौं’, स्थायी समिति सदस्य तथा कार्यदल सदस्य वेदुराम भुसालले भने ।

कार्यदलले एकता प्रक्रिया कसरी टुंग्याउने र त्यसको ठोस प्रस्ताव बनाउने भन्नेमा मापदण्ड बनाइसकेको छैन । कार्यदललाई आफैं मापदण्ड बनाई काम गर्न अध्यक्षद्वयले निर्देशन दिएका छन् । ‘मापदण्ड बनाउने विषयमा अहिले छलफल पुगिसकेको छैन,’ कार्यदलका अर्का सदस्य लेखराज भट्टले भने, ‘अहिले छलफलका क्रममा समग्र विषय उठेका छन् ।’

छलफल गोप्य राखिने

नेकपा स्थायी समिति बैठकले १३ पुसमा संगठनातमक एकीकरणका लागि प्रस्ताव तयार पार्न ९ सदस्यीय कार्यादल गठन गरेको थियो । कार्यदललाई १६ पुसमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सकभर प्रतिवेदनका छलफल गोप्य राखी काम गर्न निर्देशन दिएका थिए ।

अध्यक्षद्वयको निर्देशनअनुसार नै कार्यदल सदस्यहरूले छलफललाई गोप्य बनाइरहेका छन् । ‘हामी छलफलमा छौं, छलफलका विषय अहिले नै भनिहाल्ने अवस्थाको छैन । जेहोस काम भइरहेको छ’, भुसालले भने ।

तीन मुख्य जिम्मेवारी

कार्यदलले मुख्यतः तीन वटा विषयलाई केन्द्रित गर्ने गरी जिम्मेवारी पाएको छ । कार्यदलका अर्का एक सदस्यका अनुसार यो कार्यदलले पार्टीको पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला संगठन र जनवर्गीय संगठनको एकीकरण, विधानमा रहेका प्राविधिक समस्या समाधानको प्रस्ताव तयार पार्नेछ । कार्यदलले शुक्रबार र आइतबार दुई दिन छलफल गरेको छ ।

कार्यदलका एक सदस्यका अनुसार कार्यदलले अध्यक्षद्वयले दिएको समयभन्दा केही समय बढी नै लिने संकेत देखिएको छ । कार्यदललाई १० दिनभित्र काम सक्न निर्देशन थियो । सरकारमा रहेका नेताहरू कार्यदलमा रहेका कारण समय व्यवस्थापन समस्या भएको बताइइको छ । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू