अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

गुटउपगुटले पार्टी ध्वस्त हुन लाग्यो – महामन्त्री कोइराला

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:३० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी गुटउपगुटले ध्वस्त हुन लागेको बताउनुभएको छ । नेपाली कांग्रेस रत्ननगर नगरसमितिले शनिवार चितवनको रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा कोइरालाले पार्टीलाई एक ढिक्का वनाई अघि वढ्न नेतृत्वमा परिवर्तनको विकल्प नभएको समेत बताउनुभयो ।

कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको स्पष्ट समेत पार्नुभयो । साथै आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली कांग्रेसलाई कसैले जित्न नसक्ने उहाँको दाबी थियो । अहिले आम नेतृत्वले कांग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको महामन्त्री कोइरालाले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेस कमजोर बनेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउन तत्काल संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेकोमा नेता आचार्यको जोड थियो । यसैगरी कांग्रेसका नेता धनराज गुरुङले नेपाली कांग्रेसले आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्नेमा नेता गुरुङको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू