अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

भारतमा मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

बिआरटीनेपाल २०७५ पुष २० गते ८:४३ मा प्रकाशित

दक्षिणी भारतको एउटा मन्दिरमा दुईजना महिला प्रवेश गर्न लागेका कारण उत्पन्न विरोध प्रदर्शनपछि ७५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरीत गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध र झडपसमेत सुरु भएको थियो ।

प्रवेश निषेध गरिएको इलाकाबाट पनि करिब ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपी समाचार समितिलाई बताएका छन् । यद्यपि, महिलालाई पनि मन्दिर प्रवेश गर्न दिनुपर्ने आदेश अदालतले केही समयपहिले नै दिएको थियो । तर, अहिलेपनि महिलाले मन्दिर प्रवेश गर्न पाएका छैनन् । उनीहरुलाई स्थानीयले रोक्दै आएका छन् ।
स्थानीयको विरोधमा लाखौं महिला अधिकारीवादी, कलाकार, मानअधिकारवादीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रदर्शन गर्दै आएका छन् । यस विषयमा धार्मिक दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले उच्च सुरक्षा शतर्कता अपनाएको र प्रदर्शन जारी रहेका क्षेत्रमा तनाव भएपनि शान्तिपूर्ण भएको प्रवक्ता प्रमोदले बताएका छन् ।

साबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा आदेश दिएको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा रहीआएको छ र त्यस परम्पराको महिलाले विरोध गरेका छन् । रजस्वला हुँदा अपवित्र हुने मान्यता राख्ने यहाँका हिन्दूवादी स्थानीय नागरिकले महिलाहरूले धार्मिककार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको भन्दै उनीहरुलाई रोकेका छन् । यस्तो प्रचलनबाट लैंगिकरुपमा भेदभाव भएको भन्ने मुद्दा परेपछि अदालतले मन्दिर प्रवेशमा निषेध नगर्न आदेश गरेको हो ।

तेस्रो महिला प्रवेश

यसैबीच, प्राप्त अर्काे एक पछिल्लो समाचारअनुसार उक्त मन्दिरमा विरोधका बाबजुद पनि एकजना महिला शुक्रबार प्रवेश गरेको बताइएको छ । उक्त मन्दिरमा गएको बुधबार दुईजना महिला प्रवेश गरेपछि विरोध भएको थियो । स्थानीय नागरिकले सो विरोध गरेका थिए ।

उक्त विरोधपछि कैयौं व्यक्तिलाई पक्राउ गरिएको छ र स्थानीयले कुनैपनि हालतमा सो मन्दिरमा महिलालाई प्रवेश गर्न नदिने बताएका छन् । शुक्रबार एकजना महिला जबर्जस्ती प्रवेश गरेको र उनलाई प्रहरीले सुरक्षा दिएको स्थानीय समाचारमाध्यमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू