अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध १९ करोडको करछली मुद्दा

बिआरटीनेपाल २०७५ पुष २० गते ८:३३ मा प्रकाशित

म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध साढे १९ करोड रुपैयाँ बराबर कर छली गरेको मुद्दा दायर भएको छ । वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त कर छली गरेको कसुरमा जिल्ला अदालत काठमाडौंमा शुक्रबार स्काई ओभरसिज सर्भिसेसका संचालक तामाङविरुद्ध मुद्दा दायर भएको हो ।

उहाँविरुद्ध विगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैयाँ र ३ वर्ष कैद सजाय माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । तामाङको व्यक्तिगत खातामा विभिन्न विदेशी कम्पनीबाट रकम जम्मा भएको सम्बन्धमा राजस्व चुहावटको कसुरमा उहाँविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

तामाङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुुनुहुन्छ । तामाङले सञ्चालन गरेको ओभरसिजले वैदेशिक रोजगारीमा कामदार पठाए बापत विदेशी कम्पनीबाट प्राप्त भएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले राजस्व चुहावट भएको ठहर विभागको छ ।

तामाङले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा ४ (क) र (ख) बमोजिमको कसुर गरेको देखिएकाले आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २(१) बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर दाखिला नगरेको अनुसन्धानबाट खुलेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा (२) (छ १) बमोजिम ६ करोड ५२ लाख ४७ हजार ८ सय ५७ रुपैयाँ बिगो कायम गरी तामाङविरुद्ध मुद्दा दायर भएको हो। सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । अनुसन्धानबाट तामाङले लगातार सात वर्ष आयकर छली गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू