अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

तमु ल्होछार २०७५ सम्पन्न

बिआरटीनेपाल २०७५ पुष १९ गते २०:५२ मा प्रकाशित

न्यूयोर्क । गुरुङ (तमु) हरुको महान पर्व तमु ल्होछार २०७५ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ ।

गुरुङ (तमु) सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गत डिसेम्बर २९ मा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले यस बर्ष कुकुर बर्ग अर्थात खिल्हो वर्गको विदाइ गर्दै फो ल्हो अर्थात मृग वर्गको स्वागत गर्दै मनाएका हुन् ।


विशेष अतिथि जेष्ठ नागरिक क्याप्टेन याम बहादुर गुरुङले पानसमा दिप प्रज्वलन गरेर ल्होछार २०१९ उद्घाटन गरे । उनले सबैको सुस्वास्थ्य, समृदि तथा र शान्तिको शुभकामना तथा आशिर्वाद दिए ।
अमेरिकाका लागि नेपाली वाणिज्यदुत कृष्णकुमार सुवेदी (कृषु क्षेत्री) ले ल्होछार पर्वको शुभकामना दिए । उनले प्रवासमा ल्होछार कार्यक्रम आयोजना गरेर नेपालको प्रतिनिधित्व गर्दै विविध जातिय, भाषिक, साँस्कृतिक पहिचानलाई जगेर्ना गर्न र नेपाललाई अन्तराष्टिय स्तरमा चिनाउन मद्दत पुरयाएको भन्दै प्रशंसा गरे । वाणिज्यदुत क्षेत्रीले यस्ता कार्यक्रमले साँस्कृतिक मौलिक परम्परालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न र संस्कृतिलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।अंगे्रजसँगको भिडन्तमा गोरखा सैनिकको नेतृत्व गुरुङले नै गरेको दृष्टान्त कोटयाउँदै क्षेत्रीले गुरुङ समुदायमा विगतमा भएका कमी कमजोरीलाई विर्सेर एकजुट हुन सुझाव दिए ।

गुरुङ समाजका अध्यक्ष पदम बहादुर गुरुङले ल्होछारको शुभकामना दिए । उनले ल्होछारले गुरुङको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृति र पहिचानलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए । ल्होछार पर्वले, तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले, सम्पूर्ण तमुहरुलाई एकजुट भएर लैजान गुरुङ समाज सधै तयार रहेको बताए ।

आदिवासी जनजाति महासंघ फिप्नाका वरिष्ठ उपाध्यक्ष राज कुमार विष्टले फिप्ना राजनीतिक नभई जातिय पहिचानको वकालत गर्ने संस्था भएको र गुरुङ समाज फिप्नाको सदस्य संस्था रहेको भन्दै ल्होछार पर्वको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष सिद्दार्थ गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै सबैलाई शुभकामना व्यक्त गरे । समाजले, कार्यक्रममा समाजको आजीवन सदस्य बनेका तीन जना जंग बहादुर गुरुङ तथा कविता गुरुङ , अजय गुरुङ तथा पुष्पा गुरुङ र डा। महेश गुरुङ तथा मीना कुमारी गुरुङ लाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, समाजले चीत्र गुरुङलाई विशेष सम्मान र संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङलाई प्रेजिडेन्ट अवार्डबाट सम्मान गरेको थियो । कुनै स्वार्थ विना समुदायका सदस्यहरुलाई परेको अप्ठेरोमा अहोरात्र खटेर समुदायलाई सहयोग गरेको भन्दै चित्र गुरुङलाई सम्मान गरेको समाजले जनाएको छ । त्यस्तै, संस्थाको स्थापनाकालदेखि आज सम्म पनि समाजलाई पुरयाएको अतुलनीय योदानको कदर गर्दै भन्दै अवार्ड पदान गरिएको अध्यक्ष गुरुङको भनाई छ । त्यस्तै, समाजले प्राध्यापक डा। गणेशमान गुरुङलाई देश विदेशमा रहेका गुरुङहरुलाई एकता गर्न सफल भएको र उहाँको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।


अध्यक्ष गुरुङले ल्होछार कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कलाकार, भोलेन्टियर र उपस्थित सबैलाई धन्यवाद दिए ।

साँझ ८ बजेदेखि बिहान २ बजेसम्म चलेको कार्यक्रममा विभन्न स्थानिय कलाकारहरुले विभिन्न मौलिक, साँस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा, गुरुङहरुको मौलिक, साँस्कृतिक, परम्परागत नृत्य कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । कार्यक्रममा, यस बर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाण पत्र र ब्याजले सम्मान गरेका थिए । गुरुङहरुको मौलिक पोशाकलाई लगाउन प्रोत्साहन गर्ने उद्देश्यले, १८ बर्ष भन्दा कम उमेरका २ जना बालबालिकालाई उत्कृष्ट पोशाकको पुरस्कार प्रदान गरिएको थियो । ८ बर्षिया बालिका शेइला गुरुङ र बालक तर्फ ७ बर्षका केभिन गुरुङले उत्कृष्ट पोशाकको पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, मिस नेपाल नर्थ अमेरिकाका उपाधी विजेता मोनिका घलेलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो र त्यस्तै, राफल टिकट पुरस्कारमा पहिलो हुनेले आइप्याड, दोश्रो हुनेले एप्पलको हेडफोन र तेश्रो हुनेले वायरलेस स्पीकर प्राप्त गरेका थिए ।

सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ ल्होछार मनाएको गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नयाँ बर्षको रुपमा ल्होछार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाँ बर्षको रुपमा मनाउने चलन छ ।


ल्होछार पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ । गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रमसाथ मनाउँदै आएका छन् । तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरुले मनाएका छन् । नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदै आएको छ । गुरुङ समाजका अध्यक्ष गुरुङले, ल्होछारलाई भव्य, सभ्य र सफल बनाउन र हर्सोल्लासका साथ मनाउन उपस्थित सम्पूर्ण गुरुङहरु तथा अन्य विभिन्न जातिय संघसंस्था साथै विभिन्न स्थानिय नेपाली संघसंस्थाका प्रतिनिधीहरु, पत्रकार साथीहरु, लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । ल्होछारमा, १२ बर्ष भन्दा मुनिका बालबालिका र ६५ बषै भन्दा माथिका वृद्दवृद्दाहरुको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा उपस्थित मध्ये अन्य समुदायका बाहेक सबै महिला तथा पुरुषहरु आफनो मौलिक पोशाकमा सजिएर आएका थिए । कार्यक्रममा कलाकार तथा नृत्य निर्देशकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समाजले बर्षभरी गरिने विभिन्न महत्वपूर्ण कार्यक्रम समेटर तयार पारेको बर्ष क्यालेन्डर २०१९ पनि सार्वजनिक तथा वितरण गरिएको थियो । साँस्कृतिक कार्यक्रम पछि भएको डिजेको प्रस्तुतिमा सबैले खुलेर नाचेको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू