अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

अफगानिस्तानको सैन्य शिविरमा तालिबानीको आक्रमण, पाँच सैनिक मारिए

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:४९ मा प्रकाशित

अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच अफगान सैनिक मारिनुका साथै अन्य छ जना घाइते भएका छन् । देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाहीस्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो । नाम नबताउने शर्तमा यी जानकारीहरु दिएका एक सरकारी अधिकारीले आक्रमण गर्न आएका तालिबान लडाकूहरुको संख्या भने यकिन भएको बताएका छन् ।

ती सरकारी अधिकारीले सरकारी सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको दोहोरो गोली हानाहानमा परी कैयौँ आतङ्ककारी मारिनुको साथै केही घाइते भएको दावी पनि गरेका छन् । तर के कति सङ्ख्यामा तालिबान लडाकू मारिए यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन ।

सेनाका प्रवक्ता मोहमद याहयाले यस हताहतको पुष्टि गर्नुृ हुँदै यसको विस्तृत विवरण भने पछि जानकारी दिने बताएका छन् । कान्दाहार प्रान्तमा पहिलेको तुलनामा सुरक्षा व्यवस्थामा सुधार भएको बताइन्छ । गत केही महिनायता सुरक्षा अधिकारीहरुले तालिबान र अन्य लडाकूविरुद्ध खोजीलगायत अन्य कारबाही जारी राखेका छन् । तर अझै पनि तालिबान लडाकूहरुले कान्दाहार प्रान्तमा सरकारी अधिकारी र सरकारी स्थल लक्षित आक्रमण गर्दै आएका छन् । गत तीन दिनयता अफगानिस्तानभरी भएका विभिन्न झडप र आक्रमणमा परी करीब १५ जना अफगान सुरक्षा बलका अधिकारीको मृत्यु हुनका साथै अन्य ४० जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू