अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

मुलुकलाई चाहिने दक्ष जनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्छ – राष्ट्रपति

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:४३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकलाई अहिले चाहिने दक्ष जनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयलाई यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग पर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्छ भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र रजिष्ट्रार प्रमिला थापाले विश्वविद्यालयको गतिविधि तथा आगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालयमा सहयोग पुर्याउने सेवा आयोगका प्रथम अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति धु्रवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो । सो अवसरमा उपकुलपति प्रा डा दासले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गर्नुभएको थियो भने राष्ट्रपति भण्डारीले रजतस्तम्भको अनावरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू