अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:१७ मा प्रकाशित

सरकारले पुस १३ र १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो । नेपाल सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्री, सहरी विकास मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरेको छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति पनिदिइएको छ । बैठकले साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृत गरेको छ भने ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।

यसैगरी, नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न, स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यबिधी, २०७५ , राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधी, २०७५ लाई पनि बैठकले स्विकृति दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैया निर्धारण गरेको छ । उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यबिधी, २०७५’ बमोजिम प्रति क्विन्टल रु. ६५ रुपैया २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ । चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४७१ रुपैया नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ ।

मन्त्रीपरिषद् बैठकले बिभिन्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । यसैगरी गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाल लाई नियुक्त गरिएको छ । कोशी, नारायणी उप–क्षेत्रिय, भरतपुर, भेरी अञ्चल, डडेलधुरा उप–क्षेत्रिय अस्पतालहरूलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न बैठकले सैद्धान्तिक स्वीकृति दिएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू