अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा जापानले पठायो

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:२० मा प्रकाशित

जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

सरकारले अब जापानको प्रस्तावित मस्यौदामाथि अध्ययन सुरु गरेको छ । कुन मोडलबाट, कस्ता कामदार, कुन प्रक्रियाबट लैजाने भन्ने गरी जापानले पठाएको अवधारणामाथि नेपालले केही समयपछि बस्ने दुई देशीय श्रम अधिकारीको बैठकमा नेपालले आफ्नो धारणा राख्नेछ ।मस्यौदालाई अन्तिम रुप दिन जनवरीको तेस्रो साता जापानी श्रम अधिकारीको प्राविधिक टोली नेपाल आउने कार्यक्रम छ । सरकारले कामदारको हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारी तवरबाटै कामदार पठाउने वातावरण बनाउने बताएको छ ।

जापान सरकारले विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् ।कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू