अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

प्रधानन्यायधीशमा चोलेन्द्र शमसेर जबरा नियुक्त

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:१४ मा प्रकाशित

सर्वोच्च अदालतको प्रधानन्यायधीशमा चोलेन्द्र शमसेर जबरा नियुक्त हुनु भएको छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जबरालाई न्यायालयको उच्च पद प्रधानन्यायधीशमा नियुक्त गर्नुभएको हो । शितल निवासमा बिहान एक समारोहकाबीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश जबरालाई पद तथा गोपनियताको सपथ गराउनुभयो । त्यस लगत्तै उहाँले आजै सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुभएको छ । संसदीय सुनुवाई समितिले हिजो उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

ओमप्रकाश मिश्रले हिजैबाट उमेर हदका कारण अवकाश लिएपछि सर्वोच्च अदालतको नेतृत्वमा जबरा नियुक्त हुनु भएको हो । उहाँ २०७९ सालसम्म प्रधानन्यायधीश बन्नु हुनेछ । प्रजातन्त्र स्थापनापछि पूर्ण कार्यकाल प्रधानन्यायाधीश हुने जबरा पहिलो व्यक्ति हुनुहुन्छ । २०१४ सालमा काठमाडौंमा जन्मिनुभएका जबरा, २०४७ सालपछि पूर्ण कार्यकालको प्रधानन्यायाधीश हुने पहिलो व्यक्ति हुनुहुन्छ ।

आगामी ०७९ सालसम्म न्यायालयको नेतृत्व सम्हाल्न लाग्नुभएका जबराले आफ्नो चार वर्षे कार्यकाल विवादरहित बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । अनियमितता र भ्रष्टचाररहित न्यायालयको परिकल्पना सहित उहाँले अघि सारेको अवधारणा पत्रमा न्यायालयलाई प्रविधियुक्त बनाउने उल्लेख छ ।

२०३९ सालदेखि २०४९ सम्म तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार रहनुभएका जबरा २०५२ को चैत मसान्तसम्म कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो । त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर २०७१ जेठ १३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु भएको हो । उहाँले अहिलेसम्म झण्डै ११ हजार मुद्दा फस्र्योट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू