अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

पाँच पूर्वप्रधानमन्त्रीलाई ढाका टोपी लगाइ दिएर मनाइयो नेपाली टोपी दिवस

बिआरटीनेपाल २०७५ पुष १७ गते १३:५१ मा प्रकाशित

काठमाडौँ-नेपाली टोपी प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरूलाई ढाका टोपी लगाइ दिएर मङ्गलवार छैटौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ ।

प्रतिष्ठानका पदाधिकारीले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबबुराम भट्टराईलाई उनीहरूकै निवासमा पुगेर नेपाली टोपी लगाइदिएका थिए । ती सबै पूर्वप्रधानमन्त्रीहरूले समेत नेपाली टोपी प्रतिष्ठानको सदस्यहरूलाई टोपी लगाई शुभकामना आदानप्रदान गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष दाहालले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको दिवसको सफलताको कामना गरेका थिए । उनले यो अभियानमा आफ्नो पूर्ण साथ रहने बताए ।

त्यस्तै नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाले नेपालको सांस्कृतिक महत्त्व बोकेका यस्ता कार्यक्रमले नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने बताए । पूर्वप्रधानमन्त्रीहरू नेपाल, झलनाथ खनाल र डा. भट्टराईले पनि यस अभियानलाई सकारात्मक रूपमा लिँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालीको पहिचान जोगाउन अभियानले सहयोग पुग्ने बताए ।

नेपाली युवाले विगत ५ वर्षदेखि बर्सेनि जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली युवालाई आफ्नो पहिचानको संरक्षण गर्न झक्झक्याउन र नेपाली पहिचानलाई विश्वमाझ स्थापित गर्ने प्रयासका रूपमा यो दिवस मनाउने गरिएको हो । विश्वभरका नेपालीले मंंगलबार नेपाली टोपी लगाएर खिचिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

अभियानलाई व्यापक बनाउन गत वर्ष संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले, शङ्कर बन्जाडेलगायतको पहलमा गैर नाफामूलक नेपाली टोपी प्रतिष्ठान नामक संस्था गठन गरिएको छ । यस वर्ष टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्य दूत नवराज पोखरेलको पहलमा ३९ देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।

प्रतिष्ठानले विश्वभरका नेपाली नागरिक एवं नेपाली मूलभाषीहरुले सर्वमान्य रूपमा प्रयोग गर्दै आएको नेपाली टोपीलाई सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय पहिचानको मान्यता प्रदान गर्ने गरी जनवरी १ लाई अन्तर्राकष्ट्रिय नेपाली टोपी दिवसको रूपमा स्थापित गराउन पहल गरी दिन नेपाली टोपी प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्व प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू