अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

मिस पूर्वाञ्चलको ताज भद्रपुरकी पुजालाई

बिआरटीनेपाल २०७५ पुष १७ गते ०:०७ मा प्रकाशित

धरान ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१८’ को उपाधि झापा, भद्रपुरकी पूजा श्रेष्ठले जितेकी छिन् ।

सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा शनिवार राती धरान १५ स्थित होटेल इजी राइडर्समा भएको फाइनल प्रतिस्पर्धामा मुख्य निर्णायक वरिष्ठ वातावरणविद् राजेन्द्र खनालले सोधेको ‘तपाईँको विचारमा नेपाल अल्प विकसित देश हो कि अव्यवस्थित ?’ प्रश्नको जवाफमा पुजाले ‘हाम्रो देश अविकसित भन्दा पनि अव्यवस्थित हो । त्यसैले हामी युवाले देशलाई विकासको बाटोमा लैजान दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ । सँगसँगै हामीले आफूलाई पनि विश्वास गर्नुपर्छ’ भन्ने जवाफ दिएकी थिइन् ।

निर्णायकहरूको नजरमा उत्कृष्ट ठहरिएकी पुजाले ताजसँगै यामाहा कम्पनीको स्कुटर, हङकङ भ्रमणको अवसर लगायतका पुरस्कार पाइन् भने युएन कलेजको छात्रवृत्ति समेत पाइन् । साथै उनी एक नम्बर प्रदेशको प्रमुख पर्यटकीय स्थल भेडेटारको पर्यटन सदभावनादूत समेत बनिन् । 

जम्मा १४ प्रतिस्पर्धी मध्ये धनकुटा, हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख पुरस्कार पाइन् । इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बनेर नगद ५० हजार पाइन् ।

फाइनल प्रतिस्पर्धामा फेसअफ डिभाईनसहित डिभाइन मिस फोटोजेनिक र बराह मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् । इजिराइडर वेष्टवाक र पेप्सी मिस ट्यालेन्ट सोनेता दाहाल, क्विक्स मिस पब्लिक च्वाईस र सुरेशस्टडी भिसा मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने बाइबाई मिस कन्जेनियालिटी सलिना राजवंशी र पिएलओ मिस फिटनेस स्वस्टिका विसुंखे घोषित भए । उनीहरूले जनही १५ हजार पुरस्कार पाए । 

प्रिया रानी लामाको कोरियोग्राफी रहेको प्रतियोगितामा मुन्धुम बुटिक एन्ड मेख्ली हाउसको ड्रेस डिजाइन र तरुना राईको मेकअप रहेको थियो । कार्यक्रममा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालाई आयोजकका तर्फबाट सौरभ श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रम मिस नेपाल वल्र्ड २०१० सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा गायिका विष्णु चेम्जोङ, गायक विनोद खम्बु, सुनयना श्रेष्ठले गीत गाएका गरेका थिए मनिता राईले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा असहाय बालबालिकाका लागि भोजन वितरण गर्ने अभियान ‘ह्याप्पी टमी रिजन टु स्माइल’ अभियान सञ्चालन गरिरहेका गगन श्रेष्ठलाई आयोजकका तर्फबाट १५ हजार सहयोग प्रदान गरिएको थियो । 

प्रतिस्पर्धामा मुख्य निर्णायक खनाल सहित कवि सुदिप पाख्रिन, गायक डिल्ली फोम्बो, सफ्टी हाइजिनका सिइओ भुवन ढकाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.रोहित रिजाल, मिस पूर्वाञ्चल २०१५ प्रियङ्का श्रेष्ठ, फिल्मका पटकथाकार सामिप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, डिभाईन बाइनका ब्रान्ड म्यानेजर सञ्जु शाक्य र मिस्टर नेपाल २०१८ निर्णायक रहेका थिए । बराह ज्वेलरीको प्रस्तुति तथा नेपाल आइस बियरको मुख्य प्रायोजनमा मिस पूर्वाञ्चलको नवौँ संस्करण सम्पन्न भएको हो । 

 

प्रतिक्रिया