अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

वरिष्ठ गीतकार लामा सम्मानित

माधव गुरुङ २०७५ पुष १६ गते २३:५१ मा प्रकाशित

न्यूह्यामसर, गुरुङ (तमु) समाज न्यूह्यामसरले वरिष्ठ गीतकार बुद्धवीर लामालाई सम्मान गरेको छ । समाजले गुरुङ (तमु) ल्होछारको अवसरमा राज्यको म्यानचेस्टर सहरमा आयोजित एक कार्यक्रमबिच लामालाई ‘जीएसएनएच अवार्ड अफ एक्सिलेन्स’ द्वारा सम्मान गरेको हो ।

लामालाई न्यूह्यामसर गुरुङ समाजका अध्यक्ष शम्भु गुरुङ एवं न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले संयुक्त रूपमा गुरुङ जातिको पहिरन भ्याङ्ग्रा ओढाउँदै सम्मान पत्र हस्तान्तरण गरेका थिए । ‘मैले यो सम्मान मेरो व्यक्तिगत सम्मान हो भन्ने ठानेको छैन’ सम्मानपछि बोल्दै लामाले भने ‘यो सम्मान नेपाली गीतसङ्गीतप्रतिको सम्मान हो । डायस्पोरामा बसे पनि तपाईँहरूको नेपाली गीतसङ्गीतप्रतिको माया सम्मानयोग्य छ ।’

लामाले ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘हुम्ला जुम्ला गाडीमा कहिले जाने हो’, ‘सबै भन्दानी पैसै ठुलो छ’, ‘धेरैचोटी आँखा जुध्यो तर तिमी हाँसेनौँ’, ‘खुट्टा तान्दै गर’ लगायतका सयौँ कर्णप्रिय आधुनिक गीतहरूको रचना गरेका छन् भने ‘नेपाली हुँ राष्ट्रको गौरव बढाई देऊ’, ‘बहादुर जति गोर्खाली’ लगायतका दर्जनौँ राष्ट्रिय गीतहरूको रचना गरेका छन् । विं.सं. २०४० सालबाट साङ्गीतिक यात्रा आरम्भ गरेका गीतकार लामा पूर्व नेपाली म्याराथन धावक हुन् भने एक कुशल प्रशासक समेत हुन् । नेपालको विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) भएर सेवा गरिसकेका उनी हालै उपसचिव पदबाट सेवानिबृत्त भएका हुन् ।

कार्यक्रममा गायक रोशन गुरुङले लामाद्वारा रचित ‘सबैभन्दानी पैसै ठुलो छ’ गीत गाएका थिए भने गायिका पविता परियार एवं गायक तिलक श्रेष्ठले पनि लामाकै गीतहरू गाएका थिए ।

सम्बन्धित सामग्रीहरू