अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

राज्य संयन्त्रमा सत्तारूढ दलको नियोजित हस्तक्षेप – काँग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:२४ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काँग्रेस काठमाडौँले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाउनुभयो ।

कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको उल्लेख गर्दै सभापति देउवाले त्यसकै कारण कर्मचारी आन्दोलन गर्न बाध्य भउको बताउनुभयो । सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा रहेको टिप्पणी गर्दै देउवाले क्रमशः प्रहरी, सेनालगायत राज्यका निकायमा पनि हस्तक्षेप हुने र त्यही नै अधिनायकवाद सोचको शुरुआत रहेको बताउनुभयो । काँग्रेस सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्दै सभापति देउवाले आफूहरुले प्रतिपक्षीका नाममा अनावश्यक मुठभेड गर्न नचाहेको पनि प्रष्ट पार्नुभयो । बिपीले शुरु गरेको मेलमिलापको नीति सदैव लोकतन्त्रका पक्षमा रहेको तथा परिस्थतिअनुसार मेलमिलापको सान्दर्भिकता हिजो, आज र भोलि पनि रहेको उहाको भनाई थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य नरहरि आचार्यले मुुलुकमा अहिले पनि सबै राजनीतिक शक्ति तथा सातै प्रदेशबीच एकता र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । पार्टी केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले हालै सम्पन्न पार्टीको महासमिति बैठकले कार्यकर्तामा नयाँ उत्साह सञ्चार गरेको उल्लेख गर्दै समावेशी व्यवस्थासहित पारित काँग्रेसको विधानले सदस्यता वितरणलाई व्यवस्थापन गर्ने बताउनुभयो । पूर्व सभामुख तारानाथ रानाभाटले मेलमिलाप दिवसले देश बचाउन, राष्ट्रियता जोगाउन प्रजातन्त्रको संस्थागत विकास गरेर समृद्धि हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।

नेपाली काँग्रेसले पार्टीका संस्थापक कोइरालालगायत नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेको भन्दै स्वदेश फर्केका बिपीलगायत नेतालाई तत्कालीन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा लगी बन्दी बनाएको थियो । नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर मेलमिलाप दिवस आमसभा, गोष्ठी, पदयात्रा, कोणसभालगायत कार्यक्रम गरी मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू