अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

गैरआवासीय नेपाली सङ्घ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठकद्धारा जारी कम्पाला घोषणापत्र २०१८

बिआरटीनेपाल २०७५ पुष १५ गते १३:३३ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा डिसेम्बर २९ र ३०, २०१८ (२०७५ पुस १४ र १५ गते) सफलताका साथ सम्पन्न भयो । बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगान्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगान्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमती हाइट हावा नामुजेनीको उपस्थिति रह्यो भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगान्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगान्डा सरकारका विभिन्न निकाय तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति तथा प्रस्तुति रह्यो । दुई दिने यो सम्मेलन निम्न १२ बुँदे कम्पाला घोषणापत्र जारी गर्दछ । 

१. नेपालको पर्यटन, पूर्वाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबिचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।

२. नेपालबाट अफ्रिकी मुलुक हुँदै अवैधानिक रूपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दो छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःख कष्ट भोग्नु परेको यथार्थ हाम्रा सामु छ । यो क्रम तत्काल रोक्नका लागि कढाई गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।

३. वैधानिक रूपमा अफ्रिकी मुलुक आउने नेपालीहरूलाई समेत नेपाल र भारतका विमानस्थलमा त्याँहाका कर्मचारीले अनावश्यक दुःख दिने गरेका छन् । वैधानिक रूपमा आउनेहरूलाई यसरी अनावश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसङ यो बैठक आग्रह गर्दछ । 

४ पछिल्लो समय अफ्रिकाका विभिन्न मुलुकमा रोजगारी मात्र नभई लगानीकर्ता र विज्ञका रूपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूतावास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्र्ने बाध्यता छ । यो यथार्थतालाई ध्यानमा राखी पूर्वी र पश्चिम अफ्रिकी मुलुकमा कम्तीमा एक एक वटा दूतावास खोल्नका लागि नेपाल सरकारसङ आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अवैतनिक महाबाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महाबाणिज्यदूत छनौट गर्ने प्रक्रियामा सघाउन सङ्घ तयार रहेको छ ।

५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त सम्भावना रहेका छन् । ती सम्भावनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबिच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ ।

६. एनआरएनएको पहलमा नेपालमा हुने एकीकृत लगानीका क्षेत्रमा अफ्रिकामा कार्यरत नेपालीहरू सहभागी हुने यो बैठक प्रतिबद्धता जनाउँछ । साथै, नेपालमा लगानीका लागि नेपाल सरकारसङ सहकार्य गर्न यो बैठक युगान्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह गर्दछ ।

७. अफ्रिकाका विभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रूपमा मान्यता दिलाई उनीहरूको बसोबास सहज बनाउनका लागि त्याँहाका सरकारसङ पहल गरिदिन यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ ।

८. पछिल्लो समय अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य भएका छन् । ती मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरूको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई आग्रह गर्दछ ।

९. अफ्रिकी मुलुकसँग व्यापार प्रवर्द्धन गर्न म्त्ब्ब्, द्यक्ष्एएब् जस्ता सन्धिका लागि पहल गर्न नेपाल सरकारसङ अनुरोध गर्दछ ।

१०. गैरआवासीय नेपाली सङ्घले विगतदेखि नै जोड दिदैं आएको वैदेशिक रोजगारीमा आएकाहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने हजारे अभियान सञ्चालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदैं चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष यो बैठक अनुरोध गर्दछ ।

११. एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सह आयोजक इजिप्टस्थित नेपाली दूतावासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरियो । 

१२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि युगान्डा सरकार र त्याँहाका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्दछ। साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगान्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगान्डा सरकारलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ ।

३० डिसेम्बर २०१८
कम्पाला, युगान्डा

प्रतिक्रिया