अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

मेक्सिकोको सीमा नै बन्द गराउने राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेक्सिको सँगको सीमा नै बन्द गर्ने चेतावनी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दैसीमामा पर्खा लगाउनुपर्ने र त्यसो हुन नसके सीमा नै बन्द गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सीमा बन्द गर्ने चेतावनी औपचारिक रुपमा पुष्टि गरेको छ ।
अमेरिकी संघीय बजेटका बारेमा एक हप्तादेखि जारी अवरोधका कारण अमेरिकी संघीय सरकारी निकाय आंशिक रुपमा ठप्प भएका छन् । ट्रम्पले प्रस्तावित सीमा पर्खालका लागि संघीय बजेटमा रकम व्यवस्था गर्नुपर्ने अडान लिएपछि बजेटमा अवरोध सिर्जना भएको हो ।

संघीय बजेटमा सीमा पर्खालका लागि रकम व्यवस्था गर्नेबारे कंग्रेससँगको छलफल अवरुद्ध भएको छ । बजेटमा रहेको विवादका कारण सरकारी कार्यालयहरु बन्द भएका छन् । विभिन्न संघीय कार्यालयमा कार्यरत हजारौं कर्मचारी अहिले बेतलबी बिदा वा तलब कहिले पाउने भन्ने अनिश्चितताको अवस्थामा काम गरिरहेका छन् ।

प्रतिक्रिया