अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

डिजिटल नेपालको ढाँचा महिना दिनमै सार्वजनिक हुन्छ – संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:४१ मा प्रकाशित

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महिनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले प्रविधिको पहुंच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै रहेको भन्दै प्रविधिको प्रयोगबाट लाभ लिन सकेमात्र त्यसको सान्दर्भिकता हुने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सही ढङ्गले प्रयोग गर्नसके मात्र यसको सान्दर्भिकता हुने भएकाले प्रविधि मानिसभन्दा वुद्धिमान र क्षमतावान हुन नहुने धारणा राख्नुभयो । प्रविधिको पहुँच अभिवृद्धिका साथै ‘डिजिटल भिडाइड’ कम गर्ने उद्देश्यका साथ सरकारले शुरुवातको रुपमा विद्यालयमा कम्प्युटर शिक्षा शुरु गरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कम्प्युटर प्रविधिको माध्यमबाट समाजलाई आधुनिकतातर्फ लैजान र मर्यादित समाज निर्माणमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रविधिको माध्यमबाट विकास र समृद्धिलाई सार्थक तुल्याउन व्यवसायीमैत्री नीति अवलम्बन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । क्यान महासङ्घका अध्यक्ष हेमन्तकुमार चौरासिया, क्यानका संस्थापक अध्यक्ष डा विमलकुमार शर्मालगायतले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसात् गरेर सूचना प्रविधिको माध्यमबाटै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनेतर्फ आफूहरुको सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू