अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

अमेरिकी राष्ट्रपति ट्रम्पको सुटुक्क इराक भ्रमणले इराकी नेताहरु आक्रोशित

बिआरटीनेपाल २०७५ पुष १३ गते ९:०२ मा प्रकाशित

युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ । तर, राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ । उनीहरुले इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले सुटुक्क गरेको भ्रमणलाई इराकी सांसदहरुले ‘दम्भपूर्ण’ र ‘राष्ट्रिय सार्वभौमसत्ताको उल्लंघन’ भनी व्याख्या गरेका छन् ।

अमेरिकी राष्ट्रपतिहरुबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई प्रायः गोप्य राखिने प्रचलन छ र ट्रम्पको सवालमा पनि यही भएको बताइन्छ । अमेरिकी राष्ट्रपतिले इराक छाड्नु केही मिनेटअघिमात्र केही व्यक्तिलाई राष्ट्रपति ट्रम्प इराकमा रहेको जानकारी थियो ।

तर, राष्ट्रपति ट्रम्पको यसपटकको आकस्मिक भ्रमणलाई लिएर इराकमा राजनीतिक विवाद उत्पन्न भएको छ । करिब तीन घन्टा हवाई अखडामा बिताएका राष्ट्रपति ट्रम्पले सैनिकहरुलाई सम्बोधन गर्दै इस्लामिक स्टेट समूह समाप्त भएको बताउनुभएको थियो । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको उहाँले दाबी गर्नुभएको थियो ।

तर, ट्रम्पको भ्रमणप्रति इराकी सांसदहरुले विरोध गर्न थालेका छन् । ‘ट्रम्पले आफ्ना सीमाको विचार गर्नुपर्दछ । इराकमाथि अमेरिकी अतिक्रमण अब सकिएको छ’–इराकी सांसद सबाह अल–सैदीले भनेका छन् । ट्रम्प सुटुक्क इराक आएकोप्रति रोष प्रकट गर्दै उनले भनेका छन् –‘मानौं, इराक संयुक्तराज्य अमेरिकाकै एउटा राज्य हो ।’

ट्रम्पले इराकका कुनैपनि उच्च अधिकारीसँग भेटघाट गर्नुभएको थिएन । तर, उहाँले इराकी प्रधानमन्त्री अदेल अब्दुल–महादीसँग अन्तिम समयमा फोनमा कुरा गर्नुभएको थियो । इराकी प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको भेटघाट भेट्ने ठाउँकाबारेमा विमति रहेका कारण अन्तिम समयमा रद्द गरिएको जनाएको छ ।

इराकको संसदले इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने प्रस्ताव पारित गर्नेबारेमा पटक–पटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । बग्दादबाट करिब १०० किलोमिटर पश्चिमको हवाई अखडामा तीन घन्टा बिताएका राष्ट्रपति ट्रम्पले इराकमा तैनाथ करिब पाँच हजार २०० अमेरिकी सैनिक स्वदेश फिर्ता गर्ने कुनै योजना नरहेको बताउनुभएको थियो ।

इस्लामिक स्टेट समूहविरुद्धको गठबन्धनकै एक हिस्साकारुपमा अमेरिकी सैनिकहरु इराकमा तैनाथ छन् । अमेरिकी सैनिकहरु सन् २०११ मा इराकबाट फिर्ता भएका थिए । तर, इराक सरकारको आमन्त्रणमा जिहादी समूहसँगको लडाइँमा मद्दत गर्न सन् २०१४ मा पुनः इराक फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू