अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

सरकार समृद्धिको यात्रामा, नेपालमा अब कोही पनि गरिब नहुने – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:३६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गर्नुभयो । सो अवसरमा उहाँले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने पनि घोषणा गर्नुभयो ।

कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक बर्षभित्र गर्ने प्रधानमन्त्री ओलीको महत्वकांक्षी योजना छ । भन्सार नाकाहरुबाट आयात घट्न सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार ‘कठैबरा’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी पनि गर्नुभएको छ ।सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको उहाँको दावी समेत रहेको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा अब कोही पनि गरिब नहुने पनि बताउनु भएको छ । नेपालमा श्रमजवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने उहाँले बताउनुभयो । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभयो । “शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय,स्थानीय तह प्रशासन,निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताउनु भयो । आधा शताब्वदी भन्दा लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू