अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 21:57

लघुकथा- “धोका”

स्माइल गजुरेल २०७५ पुष १२ गते २३:१९ मा प्रकाशित

म घरबाट निस्केँ ।सुन्दर बिहानी नियालेँ । चिसोले हात काम्यो । हात खल्तीमा हालेँ । वरिपरि नियालेँ, सबै आफ्नै काममा व्यस्त । भैँसी करायो – हाइ…..हाइ…..हाइ ….। “डाम्ना कति कराउन सक्दो रहेछ” भित्र बाट आमाको आवाज आयो ।

खोले पकाउनलाई मट्यानमा दाउरा लिन गएँ । खड्कुँलोमा पानी हालेँ । आगो बाल्नलाई दाउरा मिलाएँ । आगो सल्काउनलाई लाइटर झिक्न खल्तीमा हात हालेँ । फोन थररररररर थर्कियो , आवाज निकाल्दै । बिहान बिहान नचिनेको नम्बर बाट फोन आयो । उठाऊँ कि नउठाउँ दुबिधामा परेँ । कसैलाई केही परेर फोन गरेको होला । उठाऊँ उठाऊँ लाग्यो । फोन उठाएँ । एक्कासि एउटा केटा मान्छे फोनमा रुन लाग्यो । अचम्ममा परेँ । केटा मान्छे आत्तिएर रोएको त्यति थाहा थिएन । उ झन् भक्कानिएर रोयो । “होइन के भयो? किन यसरी रोएको ?” मैले उ तिर प्रश्न तेर्साएँ । उ रुँदै सुँकसुँकाउन लाग्यो- “गर्ला फ्रेण्डले धोका दि।” मैले भनेँ – ” जाबो गर्लफ्रण्डले धोका दिँदैमा पनि यसरी रुनु पर्छ त ? लाजमर्दो! खुट्टा भए जुत्ता कति कति ? अाफु सबल बन्नुस् हजार पछि लाग्छन् ।”

म अचम्ममा परेँ । को मान्छे होला ? चिन्न असहज भयो । फोनलाई ट्याम्म कानमा टाँसेँ । स्वर चिनेको जस्तो लाग्यो । ” सम्मान हौ तिमी ?” मैले विनभ्र भावमा सोधेँ । “हो यार !” उसको रुन्चे जवाफ आयो । मलाइ वास्तविकता जान्न मन लाग्यो । “किन धोका दिइन् त ? कस्तो प्रेम हो फाइदा र बेफाइदामा चल्ने व्यापार जस्तो? मन लाग्यो कि फेर्ने फेसन जस्तो ।प्यास मेटाउने पानी जस्तो । कस्ती तिनी ? यौन खेल मात्र खेल्ने खेलाडी । कामवासनाकी पुजारी । मात्र तृप्त हुनु पर्ने । अाफु रमाएसी अरू रुँदा मन नदुख्ने ।” मेरो प्रश्नले उ एक छिन चुप बस्यो । उसको आँसुले मलाई पोल्यो । मेरा अङ्ग-अङ्ग भावुक बने सम्मान जस्तै धोका पाएर । अति दु:ख लाग्यो । झर्नै म पनि सुक सुकाउन आँटेछु ।

“किन त? पृ प्लान थिएन जिन्दगी बिताउने ? उनले के भनिन् त? केही त्यस्तो अवस्था थियो कि? ” मैले प्रश्न तेर्साएँ । केही जान्न खोजेँ । ” उनको आमालाई छोरी नजिकै दिनुपर्ने रे ! म टाढा भएँ रे क्षितिज जस्तै दूर दराजको देख्न नसक्ने । त्यही भएर पूर्वको खानदानी केटो माग्न अाएकोे रे । डिग्री पास छ रे धेरै कमाउने । उनी सोसल साइडमा उही सँग रमाउँछिन् । प्रेमलापमा । म सँग बहाना बनाउँछिन् । तिमी बिना बाँच्न सक्दिन भन्थिन् । अहिले पैसावाला पाएर म फाल्नु बनेँ । कहिल्यै काम नलाग्ने बस्तु जस्तो । शौचालयको शौच जस्तो , अपवित्र ! पाचन गरेर निष्कासित ।” उसको अवस्थाले मलाइ खल्लो बनायो ।

केटा मान्छे यसरी ठगिँदा रहेछन् । प्रेममा कलिला बच्चा बनेर । रुने, कराउने र चिच्याउने । धोका खाएसी कठोर बन्दा रहेछन् जस्तो दुनियाँ त्यस्तै । स्वार्थी ! त्यसपछि मतलब नराख्ने ।

प्रतिक्रिया